तेहरान । इरानको राजधानी शहर तेहरान नजिकै सेनाको एक कार्गाे विमान दुर्घटनाग्रस्त भएको स्थानीय सञ्चार माध्यमले जानकारी दिएका छन् ।
सो विमान कार्गो विमान रहेको भए पनि त्यस विमानमा १६ जना रहेको आशंका गरिएको छ । तर त्यस विमानमा १० जना मात्र सवार रहेका अर्को एक समाचारमा जनाइएको छ ।
तर इरानी सेनाले दिएको जानकारीअनुसार सो विमानमा १६ व्यक्ति सवार रहेका थिए र तीमध्य एकजना उडान इन्जिनियर जिवीत फेला परेका छन् ।
कार्गाे बोइङ ७०७ विमान अवतरण गर्ने क्रममा धावनमार्गबाट चिप्लिएपछि दुर्घटनाग्रस्त भएको इरान वायुयान संगठनका प्रवक्ता रेजा जाफार्जादेशले सरकारी सञ्चारमाध्यम आइआरआइबीलाई बताएका छन् ।
आइआरआइबीले शुरुमा दिएको जानकारीअनुसार यस विमानमा १० व्यक्ति मात्र सवार रहेका थिए । तासनिम समाचार समितिका अनुसार सेनाको यो कार्गाे विमानले काजकिस्तानको राजधानीबाट मासुजन्य खाद्य पदार्थ लिएर फर्किरहेको थियो ।
आल्बोर्ज प्रान्तको फाथ विमानस्थलमा अवतरण हुन लागेको यो विमानले एक भवनमा ठक्कर दिएपछि धावनमार्गभन्दा बाहिरपट्टी जबर्जस्ती अवतरण हुन लागेकोले दुर्घटनामा परेको आइआरआइबीले जानकारी दिएको छ ।
प्रकाशित मिति: आइतबार, पुस २९, २०७५