ढाका । बंगलादेशको सत्तारुढ अवामी लिगका एक स्थानीय नेताले आफ्नो पार्टीलाई भोट नदिएको भन्दै एक महिलामाथि सामूहिक बलात्कार गरेको घटना सार्वजनिक भएको छ ।
बंगलादेशको अदालतले उनीहरुलाई हिरासतमा लिन आदेश दिएका छन् । पीडित महिलाले आफूलाई विपक्षी बंगलादेश नेशनालिस्ट पार्टीलाई भोट दिएको आरोपमा सामूहिक बलात्कार गरेको बताएकी छन् ।
चार बच्चाकी आमा समेत रहेकी ति महिलामाथि चुनाव भएको ३० डिसेम्बरको राति सामूहिक बलात्कार भएको थियो ।
घटना सार्वजनिक भएपछि सर्वसाधारणले आक्रोश व्यक्त गर्दै प्रदर्शन गरेका छन् । अभियुक्तले भने आरोप अस्वीकार गरेका छन् । बलात्कारका संदिग्ध अवामी लिगका नेतालाई पार्टीबाट निष्कासित गरिएको छ ।
बलात्कार पीडित महिलाका पतिले गत साता मुद्दा दर्ता गराएका थिए । उनले आफ्नो मुद्दामा आधा रातमा नोआखली जिल्लामा रहेका आफ्नो घरमा जबरजस्ती घुसेर आफू र चार जना बच्चालाई बाँधेर पत्नीलाई बलात्कार गरेको उल्लेख गरेका छन् ।
उनीहरु गएपछि छिमेकीको सहयोगमा ३५ वर्षीया पीडित महिलालाई अस्पताल गरिएको थियो । चुनावका दिन भोट दिन जाँदा ती महिलालाई उनीहरुले विपक्षी उम्मेदवारलाई भोट नदिन भनेका थिए ।
महिलाले त्यसबेला आफू अवामी लिगका ती स्थानीय नेता राहुल अमिनसँग असहमत भएको र पछि उनी आफ्ना साथीसहित घरमा आएको बताएकी छन् ।
सामूहिक बलात्कारको घटना बाहिर आएपछि विपक्षीले राजधानी ढाकासहित नोआखली जिल्लामा प्रदर्शन गरेका छन् । उनीहरुले सत्तारुढ पार्टीले घटनाबारे माफी माग्नुपर्ने बताइरहेको छ ।
प्रकाशित मिति: सोमबार, पुस २३, २०७५