काठमाडौं । रुसको माग्नितोगोर्स्क शहरको एक भवनमा शक्तिशाली विष्फोट हुँदा कम्तिमा चार जनाको मृत्यु भएको छ भने अन्य ४० जना सम्पर्कबिहीन छन् ।
सो सहरको एउटा ४८ तले भवनमा मानिसहरु भेला भएर नयाँ वर्ष मनाइरहेको अवस्थामा विस्फोट भएको हो । विष्फोटका कारण दुई वटा फ्ल्याट पूरै क्षतिग्रस्त भएका छन् ।
भवनको भग्नावशेषबाट ५० जनालाई उद्धार गरि अस्पवताल पठाइएको छ । अझै केही व्यक्तिहरु भग्नावशेषमा पुरिएको अनुमान छ । उद्धारमा ढिलाइ भएमा अत्याधिक चिसोका कारण थप मानिसको ज्यान जाने भन्दै तत्काल उद्दारमा जोड दिइएको छ ।
यतिबेला रुसको सो क्षेत्रमा न्यूनतम तापक्रम माइनस १७ डिग्री सेल्सियस छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले घटनास्थलको निरीक्षण गर्दैै उद्धार र राहत कार्यमा सहयोग गर्ने वाचा गरेका छन् ।
प्रकाशित मिति: सोमबार, पुस १६, २०७५