वासिङटन । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले सिरियामा युद्धरत इस्लामिक स्टेट (आइएस) समूहका बाँकी लडाकूलाई परास्त गर्ने टर्कीका राष्ट्रपतिले विश्वास दिलाएको बताएका छन् ।
टर्कीका राष्ट्रपति रिसेप तैयप एर्दाेगानसँगको भेटपछि राष्ट्रपति ट्रम्पले ट्वीट गर्दै भने, ‘टर्कीका राष्ट्रपतिले सिरियामा जेजति आइएसका लडाकू छन्, उनीहरुलाई टर्कीले नै परास्त गर्न सक्षम रहेको विश्वास दिलाउनुभएको छ ।’
इस्लामिक स्टेट परास्त भैनसकेको र सिरियामा जारी गृहयुद्ध समाप्त समेत नभएको अवस्थामा सिरियामा तैनाथ करिब दुई हजार अमेरिकी सेना फिर्ता गर्ने राष्ट्रपति ट्रम्पको घोषणालाई लिएर देशभित्र र बाहिर उहाँको तिब्र आलोचना भइरहेको छ ।
ट्रम्पले ट्वीटमा अगाडि भनेका छन्, ‘एर्डाेगान यो विषय सुल्झाउन सक्षम व्यक्तित्व हुनुहुन्छ ।’
दुबै नेताबीच वासिङटनमा भएको भेटवार्ता मुख्यतः सिरियामा सक्रिय आइएस समूह र अमेरिकी फौजको फिर्तीका विषयमा केन्द्रित रहेको ह्वाइट हाउसले जनाएको छ ।
सिरियामा तैनाथ अमेरिकी सेनाले आइएस विरुद्ध बहुराष्ट्रिय सङ्घर्षमा मद्दत गरेको थियो । विवादकै बीच ट्रम्पले लेखेको ट्वीटमा भनेका छन्, ‘हाम्रो सैनिक बल घरफिर्ता हुँदैछ ।’
प्रकाशित मिति: आइतबार, पुस ८, २०७५