जकार्ता । इण्डोनेसियाको सुन्दा स्ट्रेटस्थित समुद्रको किनारमा आएको शक्तिशाली सुनामीका कारण कम्तीमा पनि ६२ जनाको मृत्यु भएको छ भने अन्य सयौं घाइते भएका छन् ।
इन्डोनेसियाको विपद व्यवस्थापन निकायले सुनामीका कारण ५८४ जना घाइते भएको जनाएको छ ।
क्राकाटोआ ज्वालामुखी विस्फोटले समुद्र मुनि पहिरो आएको र यसैका कारण सुनामी आएको हुनसक्ने सो निकायको अनुमान छ । जाभा र सुमात्रा टापुको बिचमा रहेको सुन्दा स्ट्रेटले जाभा सागरलाई हिन्द महासागरसँग जोड्छ ।
अनाक क्राकाटोआ नामक यो ज्वालामुखी हालैका महिनाहरूमा धेरै पटक विस्फोट भइसकेको छ ।
सुनामीपछि पानीको तिव्र बहावका कारण स्थानीयबासीहरू भागिरहेको दृश्य सामाजिक सञ्जालमा पोस्ट गरिएका छन् ।
आपतकालीन सेवा प्रदायक अधिकारीहरूले सो सुनामी क्राकाटोआ ज्वालामुखीका कारण आएको हो वा अन्य कारणले आएको हो भन्ने बारेमा अनुसन्धान जारी राखेका छन् ।
सेप्टेम्बर महिनामा इन्डोनेसियाकै मध्य टापु सुलावेसीमा शक्तिशाली भूकम्पपछि सुनामी आएको थियो ।
सो सुनामीले तटीय नगर पालुलाई पूरै प्रभावित पार्दा करिब २ हजार जनाको मृत्यु भएको थियो ।
प्रकाशित मिति: शनिबार, पुस ७, २०७५