वासिंगटन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको विवादित फाउन्डेशन बन्द हुने भएको छ ।
न्यूयोर्ककी महान्यायाधीवक्ता बार्बरा अन्डरउडले ट्रम्प र उनका तीनजना सन्तानले निजी र राजनीतिक प्रयोजनका लागि सो कोषको रकम हिनामिना गरेको आरोप लगाएकी छन् ।
ट्रम्प फाउण्डेशनका वकिलले भने सो विषयलाई महान्यायाधीवक्ताले राजनीतिकरण गर्न खोजेको आरोप लगाएका छन् । ट्रम्प र उनको परिवारमाथि लागेका थुप्रै कानुनी मुद्दामध्ये यो एक हो ।
महान्यायाधीवक्ता अन्डरउडले ट्रम्प र उनका सन्तानविरुद्धको मुद्दा जारी रहने बताएकी छन् । एउटा विज्ञप्तिमा उनले ट्रम्प फाउण्डेशन विभिन्न हिनामिनामा समेत संलग्न भएको आरोप लगाएकी छन ।
सो परोपकारी संस्था बन्द हुने शर्तबारे बोल्दै अन्डरवुडले न्यायिक सुपरिवेक्षणमा रहेर मात्रै संस्था विघटन हुने र रकम वितरण हुने जानकारी दिएकी छन् ।
उनले संस्था बन्द हुन लाग्नुलाई कानूनी शासनका लागि एउटा महत्त्वपूर्ण जीत भएको भन्दै यो घटनाले नियम सबैका लागि एउटै भएको स्पष्ट भएको टिप्पणी गरेकी छन् ।
गत जुनमा एउटा ट्वीट गर्दै ट्रम्पले परोपकारी संस्थाले अनियमितता नगरेको भन्दै त्यसलाई बन्द गर्न नचाहेको बताएका थिए ।
प्रकाशित मिति: मंगलबार, पुस ३, २०७५