काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद रञ्जु दर्शना न्यौपानेले स्वास्थ्य बिमा सेवा रोकिँदा नागरिकहरू समस्यामा परेको भन्दै जसरी भए पनि तत्काल सञ्चालनमा ल्याउन सरकारको ध्यानाकर्षण गराएकी छन्।
मंगलबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सांसद न्यौपानेले स्वास्थ्य बिमा सेवा सञ्चालनमा ल्याउन सरकारसँग आग्रह गरेकी हुन्।
उनले आफ्नो निर्वाचन क्षेत्र काठमाडौँको थापाथलीमा फोहोर प्रशोधन केन्द्र निर्माण गर्न लागिएको विषयमा पनि चासो व्यक्त गरिन्। स्थानीयवासीले फोहोर प्रशोधन केन्द्र निर्माणको विरोध गरिरहेको भन्दै उनले आमा र बालबालिकाको स्वास्थ्यप्रति संवेदनशील हुन सरकारलाई आग्रह गरिन्।
‘के बन्न लागेको छ टाँसिएको छैन, तर बन्न लागेको जरुर छ,’ उनले भनिन्, ‘त्यहाँ फोहोर प्रशोधन केन्द्र बन्न हुँदैन भनेर स्थानीयले विरोध गरिरहेका छन्। आमा र बच्चाको स्वास्थ्यका लागि संवेदनशील बन्न आवश्यक छ।’
त्यस्तै, उनले स्वास्थ्य बिमा सेवा जसरी भए पनि पुनः सञ्चालनमा ल्याउन सरकारसँग माग गरिन्।
सांसद न्यौपानेले राष्ट्र बैंकमा सुन धितो राखेर ऋण लिएका नागरिकहरू गत भदौ २४ गतेको घटनामा सुनसमेत लुटिएपछि समस्यामा परेको विषय पनि उठाइन्। उनीहरूले न सुन फिर्ता पाएको न त्यसको रकम पाएको भन्दै पीडितहरूको समस्या सुनिदिन सरकारसँग आग्रह गरिन्।
प्रकाशित मिति: मंगलबार, भदौ २, २०८३