कोलम्बो । श्रीलंकाका अपदस्थ प्रधानमन्त्री रनिल विक्रमासिंघे प्रधानमन्त्रीमा पुनर्बहाली भएका छन् ।
राष्ट्रपति मैत्रीपाला सिरिसेनाले राजनीतिक संकट सुरु भएको ५१ दिनपछि विक्रमासिंघेलाई पुनर्बहाली भएका हुन् । सिरिसेनाले गत अक्टोबर २६ का दिन विक्रमासिंघेलाई प्रधानमन्त्रीबाट हटाई महिन्दा राजापाक्षेलाई प्रधानमन्त्रीमा नियुक्त गरेका थिए ।
विक्रमासिंघेलाई राष्ट्रपति सिरिसेनाले आइतबार पद तथा गोपनीयताको सपथ पनि गराएका छन् ।
विक्रमासिंघेलाई अपदस्त गरेर प्रधानमन्त्रीमा नियुक्त गरिएका महिन्दा राजापाक्षेले शनिबार राजीनामा दिएपछि आफैंले बर्खास्त गरेका विक्रमासिंघेलाई पुनर्बहाली गर्न सिरिसेना बाध्य भएका हुन् ।
राष्ट्रपतिद्वारा नियुक्त प्रधानमन्त्री राजापाक्षेलाई संसद र अदालतले अबैध भन्दै काम गर्न नदिएपछि उनले शनिबार राजीनामा दिएका हुन् ।
संसद र अदालत दुबैले संसदबाट बहुमतप्राप्त भएकाले विक्रमासिंघेलाई नै प्रधानमन्त्रीका रुपमा काम गर्न दिनुपर्ने आदेश दिएपछि सिरिसेनाले उनलाई नै फेरि नियुक्त गर्न बाध्य भएका हुन् ।
विक्रमासिंघेको पार्टी युनाइटेड नेसनल पार्टीले ट्वीट मार्फत राष्ट्रपतिको अवैधानिक कदमलाई परास्त गर्न र विधिको शासन स्थापित गर्न लडेका सबैप्रति धन्यवाद ज्ञापन गरेको छ ।
विक्रमासिंघेका प्रवक्ताले उनले चाँडै नै मन्त्रिपरिषद् गठन गर्ने जानकारी दिएका छन् । नयाँ वर्ष सन २०१९ का लागि वार्षिक बजेट बनाउने विषयमा पनि उनले प्राथमिकताका साथ काम गर्ने बताए ।
प्रकाशित मिति: शनिबार, मंसिर २९, २०७५