भोपाल । भारतीय काँग्रेस पार्टीका नेता कमलनाथ मध्यप्रदेशको मुख्यमन्त्री बन्ने भएका छन् । उनले यही १७ डिसेम्बरमा मध्य प्रदेशको मुख्यमन्त्रीको सपथ गर्ने भएका छन् ।
१३ डिसेम्बरमा मध्य प्रदेशको मुख्यमन्त्री नियुक्त भएका कमलनाथले ‘लाल परेड ग्राउन्ड’ मा सपथग्रहण गर्ने भएका हुन् ।
मध्य प्रदेशको काँग्रेस समिति (एमसीसी) का अध्यक्ष समेत रहेका कमलनाथलाई मुख्यमन्त्री बनाउने निर्णय बिहीबार अबेर राति घोषणा भएको थियो ।
हालैमात्र सो राज्यमा सम्पन्न विधान सभाको निर्वाचनमा काँग्रेस पार्टीको विजयपछि कमलनाथलाई मुख्य मन्त्रीमा प्रस्ताव गरिएको हो । मध्य प्रदेशमा उप मुख्यमन्त्री भने रहने छैन ।
यसअघि भारतीय जनता पार्टी (बिजेपी) का नेता शिवराज सिंह चौहान तीन पटकसम्म लगाताार सो राज्यको मुख्यमन्त्री रहेका थिए ।
आफ्नो राजनीतिक यात्रा सुरु भएयता ७२ वर्षीय काँग्रेस नेता कमलनाथ पहिलो पटक मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । उनी काँग्रेस पार्टीको तर्फबाट मध्य प्रदेशमा नौ पटकसम्म साँसद भएका थिए ।
यसअघि पनि उनले भारतका पूर्व प्रधानमन्त्री डा.मनमोहन सिंहको मन्त्रिमण्डलमा दुई पटक सम्म उद्योग र यातायत मन्त्रीको जिम्मेवारी सम्हालिसकेका छन् ।
मध्य प्रदेशमा हालै भएको निर्वाचनमा काँग्रेसले १ सय १४ सिटमा विजय प्राप्त गरेको छ । बहुमत प्राप्त गर्नको लागि काँग्रेसको दुइ सिट मात्र कम भएको थियो ।
प्रकाशित मिति: बिहीबार, मंसिर २७, २०७५