नयाँदिल्ली । भारतका सबैभन्दा धनी व्यापारी मुकेश अम्बानीकी एक्ली छोरी ईशा अम्बानीको बुधबार बिहे भएको छ । उनको बिहे भारतका धनाढ्य व्यापारी अजय पिरामलका छोरा आनन्द पिरामलका साथ भएको हो ।
अम्बानीको मुम्बईस्थित घर एन्टिलियामा भएको वैवाहिक कार्यक्रममा अतिविशिष्ट पाहुनाहरुलाई समेत बोलाइएको थियो । विवाहपूर्वको सांगितिक कार्यक्रमका लागि हलिउडबाट पप स्टार बियोन्सेलाई बोलाइएको थियो भने सो कार्यक्रममा अमेरिकाबाट हिलारी क्लिण्टन विशेष पाहुनाको रुपमा सहभागी भएकी थिइन् । यस्तै, बलिउडबाट शाहरुख खान, आमिर खान, सलमान खान लगायत १८ सय कलाकारलाई बोलाइएको विभिन्न सञ्चारमाध्यमले जनाएका छन् ।
उक्त पार्टीमा सलमान खानले ‘कोही मिल गया’ बोलको गीतमा नृत्य प्रस्तुति समेत दिएका थिए । केही ब्याकग्राउण्ड डान्सरको साथमा सलमान देखिएपछि सामाजिक सञ्जालमा सलमानको आलोचना समेत भएको थियो ।
ईशाको विवाहमा मुकेश अम्बानीले करिब ७०० करोड भारतीय रुपैयाँ खर्च गरेका छन् । विवाहको एउटै निमन्त्रणा कार्डको मूल्य ३ लाख भारतीय रुपैयाँ थियो भने दुबै परिवारको तर्फबाट करिब ३ हजार निमन्त्रणा कार्डहरु वितरण गरिएका थिए ।
विवाहमा अजय पिरामलले बुहारी ईशा अम्बानीलाई ४५२ करोड भारतीय रुपैयाँ मूल्य बराबरको आलिशान बंगला उपहार स्वरुप दिएको बताइएको छ ।
विवाहपछि १४ डिसेम्बरमा अम्बानी परिवारले नै मुम्बईमा एक भब्य रिसेप्शन पार्टी दिने तयारी गरेका छन् ।
प्रकाशित मिति: बुधबार, मंसिर २६, २०७५