वासिंगटन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र प्रथम महिला मेलानियाले दिवंगत अमेरिकी पूर्वराष्ट्रपति जर्ज एचडब्लू बुसप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् ।
बुसको पार्थिव शरीर एयरफोर्समार्फत टेक्सासबाट वासिंगटन डीसी ल्याइएको छ । ट्रम्प दम्पत्तीले बुसको शब राखिएको स्थानमा गएर श्रद्धान्जलि अर्पण गरेका हुन् ।
बुस परिवार र ट्रम्पबीच भने त्यतिराम्रो सम्बन्ध छैन । यद्यपि, ट्रम्प श्रद्धाञ्जलिका लागि क्यापिटोलमा पुगेका हुन् । बुधबार हुने बुसको अन्तिम संस्कारमा समेत उनी सहभागी हुने बताइएको छ ।
रोटुंडामा बुधबार औपचारिक समारोह हुँदैछ । जसमा सर्वसाधारणले पनि सहभागिता जनाउन पाउनेछन् ।
अमेरिकी पूर्वराष्ट्रपति बुसको गत शुक्रबारराति ९४ वर्षको उमेरमा निधन भएको थियो । उनको शवलाई बुधबार पत्नी बारबरा गाडिएकै टेक्सासस्थित घरमा समाधिस्थ गरिने जनाइएको छ ।
प्रकाशित मिति: सोमबार, मंसिर १७, २०७५