वासिंगटन । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाका नेता किम जोङ उनसँग चाँडै नै भेट हुन सक्ने बताएका छन् ।
सन् २०१९ को जनवरी वा फेब्रुअरीमा दुई देशका शीर्ष नेताको दोस्रो शिखर बैठक हुन सक्ने ट्रम्पले बताएका हुन् ।
अर्जेन्टिनामा भएको औद्योगिक राष्ट्रको समूह जी–२० बैठकबाट स्वदेश फर्कनेक्रममा विमानभित्रै पत्रकारहरुसँग कुरा गर्दै उनले गत जुनमा सिंगापुरमा किमसँग भएको शिखर बैठकको निरन्तरताका लागि अर्को बैठकको तयारी भइरहेको जानकारी दिए ।
राष्ट्रपति ट्रम्पले भने, ‘शिखर बैठकका लागि तीनवटा सम्भावित ठाउँका बारेमा प्रारम्भिक छलफल भएको छ, तर टुङ्गो लागेको छैन ।’
गत जुनमा सिंगापुरमा भएको ट्रम्प र किमको पहिलो ऐतिहासिक बैठकपछि कोरियाली द्वीपमा आणविक निःशस्त्रीकरणका सन्दर्भमा केही कामहरु भएका छन् ।
सिंगापुर बैठकका क्रममा व्यक्त प्रतिबद्धता बमोजिम उत्तर कोरियाले आणविक तथा व्यालेस्टिक क्षेप्यास्त्र कार्यक्रम त्याग्ने सङ्केत स्वरुप केही ठोस कार्य गरेको देखाएको छ ।
अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले नोभेम्बरको सुरुमै उत्तर कोरियाका वरिष्ट अधिकारीलाई भेट्ने कार्यक्रम तय भएको थियो । उत्तर कोरियाले पछिल्ला दिनहरुमा आफ्नो देशविरुद्ध लागेका प्रतिबन्धहरु फुकुवा हुनुपर्ने माग गर्दै आएको छ ।
शुक्रबार मात्र ट्रम्पले जी–२० सम्मेलनका क्रममा ब्युनस आयर्समा दक्षिण कोरियाली राष्ट्रपति मून जाए–इनसँग पछिल्लो अवस्थाका बारेमा छलफल समेत गरेका छन् ।
प्रकाशित मिति: शनिबार, मंसिर १५, २०७५