एजेन्सी । युक्रेन र रुसबीच भएको विवादपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना रुसी समकक्षी भ्लादिमिर पुटिनसँगको बैठक रद्द गरेका छन् ।
आइतबार क्रिमिया क्षेत्रबाट युक्रेनी नौसेनाको जहाजमाथि फायरिङ गर्दै कब्जामा लिएपछि तनाव चुलिएको हो ।
ट्रम्पले अर्जेन्टिनामा हुने जी–२० शिखर सम्मेलनका क्रममा पुटिनसँग नभेट्ने घोषणा गरेका हुन् । उनले रुसले युक्रनी जहाज र त्यसमा रहेका २३ जनालाई अझै पनि फिर्ता नगरेको भन्दै भेट नगर्ने बताएका हुन् ।
यस्तै जर्मन चान्सलर एञ्जेला मर्केलले पनि यो घटनामा रुस दोषी रहेको आरोप लगाएकी छन् । उनले यो मुद्दालाई आफूले पुटिनका अघि उठाउने पनि बताइन् । जी–२० सम्मेलन आजदेखि अर्जेन्टिनामा सुरु हुँदैछ ।
युक्रेनका राष्ट्रपति पेट्रो पोरेसेन्कोले सो क्षेत्रमा जहाज पठाउन नाटोसँग अनुरोध गरेका छन् । यस संकटलाई मध्यनजर गर्दै युक्रेनले सो क्षेत्रमा एृक महिनाका लागि सैनिक कानुन लागु गरेको छ ।
प्रकाशित मिति: बिहीबार, मंसिर १३, २०७५