ब्रसेल्स । युरोपेली युनियनमा आबद्ध २७ देशका नेताहरु युरोपेली संघबाट बेलायतको बहिर्गमन हुने ब्रेक्जिट सम्झौता अनुमोदन गर्न ब्रसेल्समा भेला भएका छन् ।
बेलायती प्रधानमन्त्री थेरेसा मेले यो सम्झौताबाट बेलायतको ‘सुन्दर भविष्य’ हुने दाबी गरेकी छन् ।
ब्रसेल्समा आयोजना हुने विशेष सम्मेलनमा युनियनमा आबद्ध २७ मुलुकका नेताहरुले बेलायती प्रस्तावका सम्बन्धमा हस्ताक्षर गर्नेछन् । सो हस्ताक्षरलगत्तै बेलायती प्रधानमन्त्री पनि सम्मेलनमा सहभागी हुनेछिन् ।
विगत १७ महिनादेखिको घनीभूत छलफल पश्चात तयार सम्झौताले वित्तीय विषयहरु, नागरिकको अधिकार, उत्तरी आयरल्यान्ड र संक्रमणकालीन व्यवस्थालाई समेटेको छ । साथै, सम्झौताले युरोपको भावी सुरक्षा र व्यापारिक सम्बन्धका बारेमा पनि मार्गनिर्देश गर्ने अपेक्षा गरिएको छ ।
ब्रेक्जिट सम्झौताको यो अन्तिम चरण भने होइन । बेलायती संसद ‘हाउस अफ कमन्स’ ले आगामी मार्च २९, २०१९ अघि सो सम्झौतालाई अनुमोदन गर्नुपर्नेछ । धेरै सांसदले ब्रेक्जिट सम्झौतालाई स्वीकार गर्न नसकिने चेतावनी दिइरहेका छन् ।
बेलायती बहिर्गमनको विपक्षमा रहेका युरोपेली युनियनका परिषद् अध्यक्ष डोनाल्ड टस्कले सम्मेलनको पूर्वसन्ध्यामा एक वक्तव्य दिँदै बेलायतको बहिर्गमन योजनाबाट कोही पनि खुशी नरहेको बताएका छन् ।
उनले भने, ‘जोखिम र नोक्सानीलाई न्यूनीकरण गर्ने शर्तहरु राख्न सबैको सहमति छ । त्यसैले युरोपेली नेताहरुले यो सम्झौतामा हस्ताक्षर गरे हुन्छ ।’
प्रधानमन्त्री मेको कन्जरभेटिभ पार्टी र त्यसको समर्थक नर्दन आइरिस पार्टीले सम्झौताप्रति समर्थन नगर्ने जनाएका छन् । प्रधानमन्त्रीले देशलाई सम्बोधन गरी जारी गरेको खुला पत्रमा सन् २०१६ को जनमतसंग्रहले युरोपेली युनियनबाट बेलायतको बहिर्गमनलाई स्वीकृति दिइसकेको बताउँदै प्रस्तावित ब्रेक्जिट सम्झौता मुलुकको सुन्दर भविष्यका लागि भएको बताएका छन् ।
ब्रेक्जिटको निर्णयप्रति बेलायती जनमत समेत विभाजित छ । तर प्रधानमन्त्रीले बहिर्गमनको प्रयासले अन्तिम रुप लिइसकेको र यसबाट बेलायतलाई फाइदा नै पुग्ने बताएकी छन् ।
प्रकाशित मिति: शनिबार, मंसिर ८, २०७५