हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–६ जुरीखेतमा मंगलबार बिहान स्कार्पियो दुर्घटना हुँदा मुख्य न्यायाधीशसहित ६ जना घाइते भएका छन्।
दुर्घटनामा घाइते हुनेमा चालक, उच्च अदालत वीरगञ्जका मुख्य न्यायाधीश, अदालतका रजिस्ट्रारसहित एकै परिवारका चार जना रहेका छन्।
दाङको राप्ती नगरपालिका–८ का करिब ३२ वर्षीय चालक छुनिलाल चौधरीको टाउको तथा शरीरका विभिन्न भागमा चोट लागेको छ। उनको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।
त्यस्तै, दाङको तुलसीपुर उपमहानगरपालिका–९ का उच्च अदालत वीरगञ्जका ५७ वर्षीय मुख्य न्यायाधीश गोकर्ण डाँगीको टाउको तथा शरीरका विभिन्न भागमा चोट लागेको छ। उनको अवस्था पनि मध्यम छ।

दुर्घटनामा अदालतका रजिस्ट्रार बैतडीको दशरथचन्द नगरपालिका–७ सुर्कालका करिब ५१ वर्षीय तारादत्त बडु, उनकी ४९ वर्षीया श्रीमती लक्ष्मी बडु, २५ वर्षीय छोरा रितेन्द्र बडु र ३१ वर्षीया दिदी रिता बडु घाइते भएका छन्।
तारादत्तको शरीरका विभिन्न भागमा चोट लागेको छ। उनकी श्रीमती लक्ष्मीको टाउको तथा शरीरका विभिन्न भागमा चोट लागेकाले अवस्था गम्भीर रहेको छ। रितेन्द्रको टाउकोमा तथा रिताको टाउको र शरीरका विभिन्न भागमा चोट लागेको छ। उनीहरू दुवैको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार घाइते सबैको उद्धार गरी उपचारका लागि अस्पताल पठाइएको छ। दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको छ।
मंगलबार बिहान करिब ७ बजे काठमाडौंबाट वीरगञ्जतर्फ जाँदै गरेको प्रदेश ३–०१–००२ झ ५१८३ नम्बरको स्कार्पियो अनियन्त्रित भई सडकबाट करिब ५०–६० मिटर तल खोल्सामा खसेर दुर्घटना भएको हो।