बैतडी । ट्रेलर सडकबाट लिक बाहिरिएपछि महाकाली राजमार्ग अवरुद्ध भएको छ।
बैतडीको दोगडाकेदार गाउँपालिकामा मधेस प्रदेश ०३-००२ ख ४२३१ नम्बरको ट्रेलर सडकबाट लिक बाहिरिएपछि राजमार्ग अवरुद्ध भएको हो। क्रेनको अभावमा ट्रेलर अझै हटाउन सकिएको छैन।
जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता सुरज सिंहका अनुसार दार्चुलास्थित मार्मा हाइड्रोपावरका लागि फलामका पाता बोकेको ट्रेलर लिक बाहिरिएर सडक अवरुद्ध भएको हो।
सडक डिभिजन कार्यालयका प्रमुख किरण सुवेदीका अनुसार लोडेड ट्रेलर हटाउन क्रेन आवश्यक पर्ने भएकाले कार्यालयको तर्फबाट तत्काल हटाउन सम्भव छैन। सम्बन्धित हाइड्रो कम्पनीलाई क्रेनको व्यवस्था गरेर ट्रेलर हटाउन भनिएको उनले बताए।
सडक अवरुद्ध भएपछि दार्चुलाबाट छुटेका छोटो तथा लामो दूरीका सवारीसाधन बीच बाटोमै रोकिएका छन्।
प्रकाशित मिति: आइतबार, साउन ३१, २०८३