२४ साउन, स्याङ्जा। बजारमा खाना पकाउने एलपी ग्यासको कृत्रिम अभाव हुन नदिन जिल्ला प्रशासन कार्यालय स्याङ्जाले ग्यास डिलर तथा सप्लायर्समाथि अनुगमन सुरु गरेको छ।
उपभोक्ताबाट ग्यास सहज रूपमा उपलब्ध नभएको गुनासो आएपछि सहायक प्रमुख जिल्ला अधिकारी प्रेम सुवेदीको नेतृत्वमा संयुक्त अनुगमन टोली परिचालन गरिएको हो। अनुगमनका क्रममा अधिकांश डिलरहरूमा उद्योगबाट नियमित रूपमा ग्यास आपूर्ति भइरहेको पाइएको प्रशासनले जनाएको छ। तर, वितरण प्रणाली अझ व्यवस्थित र पारदर्शी बनाउनुपर्ने आवश्यकता देखिएको टोलीको निष्कर्ष छ।
टोलीले डिलर तथा सप्लायर्ससँग रहेको मौज्दात, उद्योगबाट भएको आपूर्ति र उपभोक्तासम्म गरिएको वितरणसम्बन्धी अभिलेखसमेत जाँच गरेको थियो। अनुगमनपछि सबै व्यवसायीलाई ग्यासको आयात, मौज्दात र वितरणको स्पष्ट विवरण राख्न निर्देशन दिइएको छ।
सहायक प्रमुख जिल्ला अधिकारी सुवेदीले बजारमा ग्यासको कृत्रिम अभाव सिर्जना गर्ने कुनै पनि गतिविधि सह्य नहुने स्पष्ट पारे। उद्योगबाट आएको ग्यास अनावश्यक रूपमा थुपार्ने, वितरणमा विभेद गर्ने वा आपूर्ति हुँदाहुँदै अभाव देखाउने कार्य भेटिए कानुनअनुसार कारबाही गरिने उनले चेतावनी दिए।
उनले उपभोक्ताको हित संरक्षण प्रशासनको प्रमुख जिम्मेवारी भएको उल्लेख गर्दै बजार अनुगमनलाई निरन्तरता दिइने बताए। साथै, ग्यास वितरणमा समस्या, अनियमितता वा कृत्रिम अभाव देखिए तुरुन्तै जिल्ला प्रशासन कार्यालयलाई जानकारी गराउन उपभोक्तासँग आग्रह गरिएको छ।
प्रकाशित मिति: आइतबार, साउन २४, २०८३