काठमाडौं । कानुनमन्त्री सोविता गौतमले हाल कार्यान्वयनमा रहेको साताको दुई दिन सार्वजनिक बिदा दिने व्यवस्था तत्काल पुनरावलोकन नहुने बताएकी छन् ।
राष्ट्रिय सभामा प्रधानमन्त्रीको तर्फबाट जवाफ दिँदै मन्त्री गौतमले हाल दुई दिन बिदा दिने व्यवस्था पुनरावलोकन गर्ने कुनै प्रक्रिया अघि नबढेको स्पष्ट पारिन् ।
उनका अनुसार तत्कालीन इन्धन आपूर्तिमा देखिएको असहजताका कारण इन्धन खपत घटाउन तथा सार्वजनिक बिदासम्बन्धी अन्तर्राष्ट्रिय अभ्यासलाई समेत मध्यनजर गर्दै शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा दिने व्यवस्था लागू गरिएको हो ।
मन्त्री गौतमले सार्वजनिक प्रशासनलाई थप परिणाममुखी बनाउन, कर्मचारीको कार्य–जीवन सन्तुलन अभिवृद्धि गर्न, ऊर्जा तथा प्रशासनिक खर्चमा मितव्ययिता कायम गर्न, आन्तरिक पर्यटन प्रवर्द्धन गर्न र समग्र आर्थिक गतिविधिलाई चलायमान बनाउन दुई दिन बिदाको व्यवस्था प्रभावकारी रहेको दाबी गरिन् ।
उनका अनुसार दुई दिन बिदा कार्यान्वयन भएपछि सरकारी कार्यालय बिहान ९ बजे नै खुल्ने भएकाले सेवाग्राहीलाई थप सहज भएको छ । कार्यालय सञ्चालनसँग सम्बन्धित विद्युत्, सवारीसाधन, इन्धनलगायतका खर्चमा समेत मितव्ययिता कायम गर्न यसले योगदान पुर्याएको उनले बताइन् ।
मन्त्री गौतमले दुई दिन बिदाले आन्तरिक पर्यटन प्रवर्द्धनमा समेत महत्वपूर्ण योगदान पुगेको उल्लेख गरिन् । छोटो अवधिका भ्रमण बढेसँगै विभिन्न पर्यटकीय, धार्मिक तथा सांस्कृतिक गन्तव्यमा आन्तरिक पर्यटकको आवागमन बढेको र त्यसबाट स्थानीय आर्थिक गतिविधि विस्तारमा सहयोग पुगेको उनको भनाइ छ ।