२७ माघ, काठमाडौँ । सिरियाको अलेप्पो सहरमा सहयोग वितरण भइरहेको एक स्थानमा विद्रोहीले गरेको गोली प्रहारमा परी कम्तीमा तीन व्यक्तिको मृत्यु भएको मानवअधिकारी समूहले बिहीबार जानकारी दिएको छ । सिरियन अरब रेड क्रिसेन्ट (सार्क) र अन्तरराष्ट्रिय कमिटि अफ रेडक्रसका स्वयमसेवक र मानवीय सहयोग लिन आएका व्यक्ति लक्ष्यगरी सो गोली प्रहार भएको थियो । बुधबार भएको यस घटनाको सार्क र अन्तरराष्ट्रिय कमिति अफ रेडक्रसले पुष्टि गरेको छ ।
यस आक्रमणमा परी सार्कका एक कर्मचारीको मृत्यु हुनुको साथै अन्य सात जना घाइते भएका जारी विज्ञप्तिमा जनाएको छ । यस गोली प्रहारमा मारिएका अन्य दुई व्यक्ति भने मानवीय सहयोग लिन आएका थिए । सिरियन अब्जरभेटरी अफ ह्यूम्यानराइट्सका अनुसार भने ती दुई व्यक्तिमा एक महिला र एक बालक रहेका थिए । सिरियामा सन् २०११ बाट सुरु भएको जनआन्दोलन केही समय पछाडि गृहयुद्धमा परिणत भयो । जारी युद्धमा परी सन् २०११ देखि हालसम्म तीन लाख १० हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ । त्यसैगरी यस युद्धको कारण लाखौँ व्यक्ति घाइते भएका छन् । लाखौँ छिमेकी मुलुकमा शरणार्थी जीवन वितारहनुपरेको छ ।
प्रकाशित मिति: बुधबार, माघ २६, २०७३