काठमाडौं । इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले पश्चिम एसियामा जारी युद्ध र तनाव अन्त्यका लागि सातदिने योजना अमेरिकासमक्ष प्रस्तुत गरिएको बताएका छन्। योजनाअनुसार केही सर्त पूरा भए सात दिनभित्र होर्मुज जलडमरूमध्य खोल्ने र त्यसपछि इरानको आणविक कार्यक्रमबारे वार्ता पुनः सुरु गर्ने प्रस्ताव गरिएको छ।
संयुक्त राष्ट्रसंघको महासभाका क्रममा पत्रकारहरूसँग कुरा गर्दै अराघचीले मध्यस्थकर्तामार्फत अमेरिकासमक्ष प्रस्ताव पठाइएको बताए। उनका अनुसार यो प्रस्ताव यसअघि अमेरिका र इरानबीच भएको समझदारीको निरन्तरताका रूपमा अघि सारिएको हो।
“हामीले मध्यस्थकर्तामार्फत अमेरिकासमक्ष एउटा योजना राखेका छौँ। यदि केही सर्तहरू पूरा हुन्छन् भने सातौँ दिनको अन्त्यमा होर्मुज जलमार्ग खोलिनेछ र वार्ता पुनः सुरु हुनेछ,” अराघचीले भने।
यसअघि पनि इरानले अमेरिकी सैन्य दबाब घटाउने र इरानी बन्दरगाहमाथिको नाकाबन्दी हटाउनेलगायतका सर्त पूरा भए एक साताभित्र होर्मुज पुनः खोल्न सकिने बताएको थियो।
अमेरिकी कारबाही अन्त्य हुनुपर्ने इरानको सर्त
जर्मनीका विदेशमन्त्री जोहान वाडेफुलसँगको भेटमा पनि अराघचीले कूटनीतिक प्रक्रिया अघि बढाउन इरानले आफ्ना माग अमेरिकी पक्षसमक्ष राखिसकेको बताएका थिए।
उनले क्षेत्रमा दीर्घकालीन सुरक्षा कायम गर्न इरानविरुद्ध अमेरिकाले गर्दै आएको सैन्य तथा अन्य दबाब अन्त्य हुनुपर्ने बताएका छन्। आणविक कार्यक्रमका विषयमा कूटनीतिक प्रयास जारी राख्ने प्रतिबद्धता व्यक्त गर्दै उनले वार्तामा इरानले देखाएको सद्भावलाई बेवास्ता गर्न नहुने तर्क गरेका छन्।
अराघचीले जर्मनीसहितका युरोपेली देशको भूमिकाको समेत आलोचना गर्दै अमेरिकी कारबाहीप्रति उनीहरूले मौन समर्थन गरेको आरोप लगाए।
सम्झौता कार्यान्वयन नभएकोमा अमेरिकालाई दोष
यसैबीच, अमेरिकी टेलिभिजन च्यानल फक्स न्युजसँगको अन्तर्वार्तामा इरानी राष्ट्रपति मसुद पेजेस्कियानले विगतमा अमेरिका र इरानबीच भएका समझदारी कार्यान्वयन हुन नसक्नुमा अमेरिकी प्रशासन जिम्मेवार रहेको बताएका छन्।
पेजेस्कियानले इरान वार्ताका लागि सधैँ तयार रहेको दाबी गर्दै होर्मुज जलडमरूमध्य इरानले बन्द नगरेको बताए। उनका अनुसार इरानमाथि आर्थिक तथा सैन्य कारबाही भएपछि परिस्थितिमा थप तनाव उत्पन्न भएको हो।
उनले इरानी सैन्य कमान्डर तथा वैज्ञानिकको हत्या भएको प्रसंग उठाउँदै अमेरिकाले वार्ताभन्दा सैन्य कारबाहीलाई प्राथमिकता दिएको आरोप लगाए।
‘विदेशी शक्तिका अगाडि झुक्दैनौँ’
संयुक्त राष्ट्रसंघको महासभामा व्यक्त आफ्नो अडान दोहोर्याउँदै पेजेस्कियानले इरानले आफ्नो रक्षा मात्र गरिरहेको दाबी गरे। युद्ध सुरु हुनुमा अमेरिका जिम्मेवार रहेको उनको आरोप थियो।
आर्थिक प्रतिबन्धका बाबजुद इरान कुनै विदेशी शक्तिका अगाडि नझुक्ने उनको भनाइ छ। शान्तिपूर्ण सम्झौताका लागि आवश्यक निर्णय गर्ने जिम्मेवारी अब अमेरिकी प्रशासनको हातमा रहेको उनले बताएका छन्।
अमेरिका र इरानबीचको कूटनीतिक प्रयासमा होर्मुज जलडमरूमध्यको पुनः सञ्चालन र इरानको आणविक कार्यक्रमबारे वार्ता मुख्य विषय बनेका छन्।
प्रकाशित मिति: शुक्रबार, असोज ९, २०८३