काठमाडौं । युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले रुसले नेपाल, भारतसहित ४७ देशका नागरिकलाई युक्रेनविरुद्धको युद्धमा प्रयोग गरिरहेको आरोप लगाएका छन्।
बुधबार संयुक्त राष्ट्रसंघको ८१औँ महासभालाई सम्बोधन गर्दै जेलेन्स्कीले विभिन्न देशका नागरिकलाई रुसले भर्ती गरेर रणभूमिमा पठाइरहेको र उनीहरूमध्ये केहीको युद्धमा मृत्यु भइरहेको बताएका हुन्।
जेलेन्स्कीले नेपाल, भारत, घाना, ताजाकिस्तान, यमन, केन्या, जिम्बाब्वे, क्युबा, बेलारुस, सुडान र दक्षिण अफ्रिकालगायत देशका नागरिक रुसको युद्धमा प्रयोग भइरहेको बताएका छन्। उनले सम्बन्धित देशका सरकारलाई आफ्ना नागरिकलाई युद्धमा तानिनबाट रोक्न आग्रहसमेत गरे।
उनका अनुसार कतिपय विदेशी नागरिक छल र प्रलोभनमार्फत रुस पुगेका छन् र पछि युद्धमा प्रयोग भएका छन्।
भारतको विदेश मन्त्रालयका अनुसार २२७ जना भारतीय नागरिक रुसी सैन्य बलमा भर्ती भएका थिए। तीमध्ये १३९ जनालाई सेवामुक्त गरिएको र ५१ जनाको मृत्यु भएको विदेश सचिव विक्रम मिस्रीले यसै महिनाको सुरुवातमा बताएका थिए। बाँकी भारतीय नागरिकको रिहाइ तथा स्वदेश फिर्ताका लागि रुससँग निरन्तर छलफल भइरहेको भारतले जनाएको छ।
जेलेन्स्कीले रुसको युद्ध जारी राख्ने क्षमतामा थप दबाब सिर्जना गर्न अन्तर्राष्ट्रिय समुदायले कडा कदम चाल्नुपर्ने धारणा पनि महासभामा राखेका छन्।
प्रकाशित मिति: बिहीबार, असोज ८, २०८३