२५ माघ, काठमाडौँ । २५ माघ, काठमाडौँ । घुसको अड्डा भनेर चिनिने वैदेशिक रोजगार विभागमा चरम लापरवाही भएको खुलासा भएको छ । काम भन्दा दाममा ध्यान दिने र सेवाग्राहीलाई दुःख दिने निकायको रुपमा परिचय पाएको विभागले गम्भीर गल्ती गरेको तथ्य फेला परेको छ । २०७० सालमा जारी भएको राहदानी नम्बरमा विभागले २०६९ सालमै श्रम स्वीकृति दिएको फेला परेको छ । काभ्रेका शिवप्रसाद पराजुलीको श्रमस्वीकृति मनीषाकुमारी अवस्थीको राहदनी नम्बरमा भएको भेटिएको छ ।
विभागका कर्मचारीको लपरावाहीका कारण एक जनाको राहदानी नम्बरमा अर्कै व्यक्ति साउदी अरब पुगेको तथ्य फेला परेको छ । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरबाट लिइएको ०७१०१९८० नम्बरको राहदानी मार्फत पराजुली साउदी अरब गएको तथ्य फेला परेको हो । सो राहदानी नम्बरको सबै विवरण मनीषा कुमारी अवस्थीको नाममा रहे पनि काभ्रेपलान्चोकका शिवप्रसाद पराजुलीले २०६९ माघ १२ गते श्रम स्वीकृति लिएको बिबरण बिभागको वेबसाइटमा भेटिएको छ ।
पराजुलीले काठमाडौं लाजिम्पाटस्थित हिमालयन लजिष्टिक एण्ड रिक्रुटमेन्ट मार्फत साउदीका लागि श्रम स्विकृती लिँदा ००२०२७४१० स्टिकर नम्बर पनि रहेको श्रम मन्त्रालय अन्तर्गतको बैदेशिक रोजगार बिभागको अनलाइनमा देखाएको छ । राहदानी विभागले यो आफ्नो गल्ती नभएको भन्दै वैदेशिक रोजगार विभागको गम्भीर गल्ती भएको स्पष्ट पारेको छ । परराष्ट्र मन्त्रालय र राहदानी विभागले यस्तो समस्या पहिलो पटक आएको बताएको छ ।
मन्त्रालयका प्रवक्ता भरतराज पौडेल हस्तलिखित राहदानी हुँदा यस्ता समस्या फ्याट्टफुट्ट देखिए पनि मेसिन रिडेबल पासपोर्ट (एमआरपी) आएपछि यस्ता समस्या नदेखिएको दाबी गर्छन । यस समास्याका सम्बन्धमा वैदेशिक रोजगार विभागले भने गैरजिम्मेवार जवाफ दिएको छ । विभागकी प्रवक्ता रमा भट्टराईले पीडितले यो विषयमा उजुरी नदिएसम्म अहिले नै कसको गल्ती हो भनेर भन्न नमिल्ने बताइन । ‘मौखक आधारमा हामीले केही भन्न मिल्दैन, यस्तो समस्या राहदानी विभागको गल्तीमा पनि आउन सक्ने हुनाले पीडितले उजुरी दिएपछि छानविन हुनेछ ।’ बैदेशिक रोजगारीमा जाँदा मेनपावर कम्पनीहरूले विभागको श्रम कार्यालयमा गएर श्रम स्वीकृति स्टीकर लिनुपर्छ ।
जसअनुसार विदेश जाने युवालाई श्रम विभागमा कुन नम्बर इन्ट्रि भएको छ भन्ने थाहा हुँदैन । श्रम कार्यालयले श्रम स्वीकृति नम्बरको स्टीकर दिने गर्छ । नेपाल सरकारले विदेश जानेलाई काम गर्ने अनुमति दिएपछि कामका लागि विदेश जान पाइन्छ । त्यहाँ इन्ट्रि भएको नम्बरले अर्कोको नाममा श्रम स्वीकृति दिदैन । शिवप्रसाद पराजुलीले श्रम स्वीकृति लिएको ४ वर्षपछि थाहा भएको यो समस्याबारे उनी अहिलेसम्म अनभिज्ञ छन् ।
केही गरी उनले कुनै दुःखद दुर्घटनाको सामना गर्नुपरे पनि उनले बीमा लगायत अन्य सेवा सुविधामा दाबी गर्न पाउने अवस्था नरहन सक्छ । २०७० फागुन ९ गते जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले मनिषा कुमारी अवस्थीको नाममा जारी गरेको सो राहदानी नम्बरबाट उनीले पनि कुनै पनि देशमा काम गर्नका लागि अनुमति पाउने अवस्था रहदैन । यस विषयलाई सम्बन्धित निकायले छानविनको दायारमा ल्याएर दोषीलाई कारबाही गर्नुको विकल्प छैन ।
प्रकाशित मिति: सोमबार, माघ २४, २०७३