काठमाडौं । गत भदौ १० गते रसुवास्थित भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि राहत तथा उद्धारका लागि आह्वान गरिएको प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा १५ अर्ब ५३ करोडभन्दा बढी रुपैयाँ मौज्दात रहेको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार कोषमा हाल १५ अर्ब ५३ करोड २४ लाख ४२ हजार ९२६ रुपैयाँ मौज्दात छ।
कोषमा जम्मा भएको रकममध्ये विभिन्न नौवटा वाणिज्य बैंकका खातामा ११ अर्ब ६३ करोड ८० लाख ९८ हजार २९१ रुपैयाँ मौज्दात रहेको छ। यस्तै, दुईवटा वाणिज्य बैंकका खातामा २५ करोड ४ लाख ७१ हजार ५४६ अमेरिकी डलर मौज्दात रहेको कार्यालयले जनाएको छ।
बाढी प्रभावित क्षेत्रमा तत्काल राहत सामग्री वितरण तथा खोज तथा उद्धार कार्यलाई तीव्रता दिन कोषबाट १ अर्ब रुपैयाँ निकासा भइसकेको छ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार उक्त रकम राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको खातामा हस्तान्तरण गरिएको छ।
प्रकाशित मिति: बिहीबार, असोज ८, २०८३