२४ माघ, काठमाडौँ । लुम्बिनी विकास कोषका सेवा करार तथा ज्यालादारी कर्मचारी फेरि आन्दोलित भएका छन । गत पुस १४ गते लुम्बिनी विकास कोषको व्यवस्थापन पक्ष र आन्दोलनरत कर्मचारीबीच भएका सहमति कार्यान्वयन नभएको भन्दै कोषमा कार्यरत ज्यालादारी तथा सेवा करार कर्मचारी फेरि आन्दोलनमा उत्रिएका हुन् । कर्मचारीले शुक्रबारदेखि जारी राखेको आन्दोलनका कारण लुम्बिनी विकास कोषको दैनिक प्रशासनिक कामकारबाही ठप्प भएको छ ।
आन्दोलित कर्मचारीले स्थायी कर्मचारीलाई कार्यालयमा गएर कुनै पनि काम गर्न दिएका छैनन् । यसअघि पुस ३ देखि १४ गतेसम्म कर्मचारीले कोषको प्रधान कार्यालय अगाडि आमरण अनशनमा बस्दै कोषको काम कारबाही पूर्णरुपमा ठप्प पारेका थिए । कोषका सदस्यसचिव अजितमान तामाङलाई पदबाट बर्खास्त गर्नुपर्ने मागसहित विभिन्न पाँच सुत्रीय माग राख्दै आन्दोलित कर्मचारीको आन्दोलनलाई सम्बोधन गर्दै पुस १४ गते संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट सदस्य सचिव तामाङलाई मन्त्रालयमा हाजिर गराइने र अन्य माग चाँडै नै सम्बोधन गर्ने गरी सहमति भएपछि त्यसबेलाको आन्दोलन टुंगिएको थियो ।
प्रकाशित मिति: आइतबार, माघ २३, २०७३