काठमाडौं । मंगलबार सेयर बजार सामान्य अंकले बढेर बन्द भएको छ। नेप्से परिसूचक ७.०६ अंकले बढेर २६५४.२८ विन्दुमा पुगेको हो।
अघिल्लो दिन सोमबार ७२ वटा ब्रोकर कम्पनीको कारोबार व्यवस्थापन प्रणाली (टिएमएस) को ब्याकअप राखिएको डेटा हब प्रालिको डेटा सेन्टरमा प्राविधिक समस्या आएपछि सेयर कारोबार स्थगित भएको थियो।
मंगलबार २५६ वटा स्क्रिप्सको २ करोड १५ लाख ८९ हजार ७६१ कित्ता सेयर ७ अर्ब ५ करोड ३ लाख ९८ हजार ६२४ रुपैयाँमा खरिदबिक्री भयो। कारोबारमा आएका १३७ वटा स्टक्सको मूल्य बढ्दा १३१ वटाको घटेको छ। ११ वटा स्टक्सको मूल्य भने स्थिर रह्यो।
सामान्य अंकले बढेको बजारमा मिड सोलु हाइड्रोपावरको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। फर्स्ट माइक्रो फाइनान्स लघुवित्त वित्तीय संस्थाको सेयर ७.७५ प्रतिशत र मैलुङ खोला जलविद्युत्को सेयर ५.६३ प्रतिशतले बढ्यो।
४४ करोड रुपैयाँ बराबरको सेयर कारोबार गर्दै हाथवे इन्भेस्टमेन्ट नेपाल शीर्ष स्थानमा रह्यो। हिमालयन डिस्टिलरीको ४० करोड, घलेम्दी हाइड्रोपावरको २२ करोड, लिबर्टी इनर्जीको १९ करोड र कुमारी बैंकको १८ करोड रुपैयाँ बराबरको कारोबार भयो।
यसदिन स्नो रिभर्सको सेयर मूल्य ८.२३ प्रतिशतले घट्यो।
सात समूहका उपसूचक बढ्दा ६ समूहका उपसूचक घटेका छन्। बैंकिङ, डेभलपमेन्ट बैंक, होटल्स एन्ड टुरिजम, इन्भेस्टमेन्ट, लाइफ इन्स्योरेन्स, माइक्रोफाइनान्स र अन्य समूहका उपसूचक बढ्दा बाँकी समूहका उपसूचक नकारात्मक रहे।