काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिले नेपाल प्रहरीको पोसाक तथा अन्य सामग्री खरिदमा भएको भनिएको अनियमितताबारे छानबिनका लागि विवरण माग गरेको छ।
बुधबार बसेको समितिको बैठकले नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र निर्वाचन प्रहरीका लागि खरिद गरिएका पोसाक तथा अन्य सामग्रीको सम्पूर्ण विवरण १५ दिनभित्र समितिमा पेस गर्न सरकारलाई निर्देशन दिएको हो।
समितिले खरिद प्रक्रियासँग सम्बन्धित आन्तरिक, प्राविधिक तथा आर्थिक मूल्यांकन, सम्झौता, आपूर्ति तथा गुणस्तर परीक्षण, बिल र भुक्तानीसम्बन्धी विवरण उपलब्ध गराउन भनेको छ।
त्यस्तै, विगतमा खरिद गरिएका सोही प्रकृतिका सामग्रीको विवरण र हाल गरिएको खरिदको विवरणसहित आवश्यक कागजातसमेत पेस गर्न समितिले निर्देशन दिएको छ।
निर्देशन दिनुअघि समितिको बैठकमा प्रहरीको पोसाक तथा सामग्री खरिदसम्बन्धी विषयमा छलफल भएको थियो। छलफलमा प्रहरी प्रमुखसहित गृह मन्त्रालयका अधिकारीहरूको समेत उपस्थिति थियो।
प्रकाशित मिति: बुधबार, साउन २७, २०८३