काठमाडौं । पाकिस्तानले पूर्वी अफगानिस्तानको कुनार प्रान्तस्थित नुरगल जिल्लाको पतंग क्षेत्रमा सोमबार बिहान हवाई आक्रमण गरेको छ ।
कुनारका स्थानीय अधिकारीका अनुसार बिहान करिब साढे ३ बजे भएको आक्रमणमा कम्तीमा तीनजनाको मृत्यु भएको छ । एउटा घरलाई लक्षित गरी गरिएको आक्रमणमा चारजना घाइते भएका छन् भने एउटा भवनमा समेत क्षति पुगेको छ ।
अफगान अधिकारीका अनुसार अत्यन्त कम उचाइमा उडिरहेका पाकिस्तानी विमानले उक्त क्षेत्रमा बम खसालेका थिए । आक्रमणको चपेटामा भूकम्पपीडितका लागि बनाइएको शिविरसमेत परेको बताइएको छ ।
आक्रमणको लक्ष्य र त्यसबारे पाकिस्तानले दिएको औपचारिक विवरण तत्काल स्पष्ट भएको छैन । प्रारम्भिक विवरण भएकाले मृतक तथा घाइतेको संख्या बढ्न सक्ने बताइएको छ ।
रातको समयमा भएको हवाई आक्रमणपछि स्थानीय बासिन्दामा त्रास फैलिएको जनाइएको छ । पछिल्लो समय सीमा क्षेत्रमा बढेको तनाव र सशस्त्र समूहको गतिविधिका कारण पाकिस्तान र अफगानिस्तानबीच सैन्य तनाव पुनः बढेको छ।
प्रकाशित मिति: सोमबार, असोज ५, २०८३