२३ माघ, काठमाडौँ । संयुक्त राष्ट्रसंघको मानवीय सहयोग मामिला हेर्ने संगठनले दक्षिण सुडानका द्वन्द्वग्रस्त समुदायमा खाद्यान्न अभाव देखिएको बताएको छ । ओसिएचएको खाद्यान्न सुरक्षा तथा जीवनयापन मामिला विज्ञले दक्षिण सुडानी नागरिकले सन् २०१७ को फेबु्रअरीदेखि जुलाईसम्म गम्भीरखालको खाद्यान्न समस्या भोग्ने अवस्था आएको बताएका संगठनको पछिल्लो प्रतिवेदनमा जनाइएको छ । दक्षिण सुडानमा सो समय स्थानीय बाली भित्र्याउने समय भए पनि कुपोषणको अवस्था असाध्यै तीव्र रहेको ओसिएचएले सन् २०१६ को सेप्टेम्बरदेखि नोभेम्बरसम्म गरेको सर्भेक्षणले जनाएको हो ।
सर्भेक्षणले दक्षिण सुडानमा खाद्यान्न संकट उच्च बन्नुमा मुद्राको अवमूल्यन, मुख्य सडकमा रहेको असुरक्षा, औसतभन्दा कम उत्पादन, स्थानीय बजारमा खाद्यान्न भण्डारणको कमी देखाएको छ । मुद्राको अवमूल्यन र खाद्यान्न भण्डारणलगायतमा कमी हुँदा यहाँ खाद्यान्नको मूल्य वृद्धिमा अहिलेसम्मकै उच्च देखिएको अध्ययन प्रतिवेदनमा देखाइएको छ । खासगरी जुवा, वाउ र अवैलीजस्ता सहरी क्षेत्रमा पनि बसोबास गर्ने करिब चार लाख मानिसको उच्च खाद्य संकटको पीडा भोग्न बाध्य रहेका राष्ट्रसंघले जनाएको छ ।
प्रकाशित मिति: शनिबार, माघ २२, २०७३