सुनसरी । देवानगञ्जमा गोली प्रहारबाट घाइते भएका २४ वर्षीय निरजकुमार यादवको शल्यक्रिया गरी गोली निकालिएको छ ।
देवानगञ्ज गाउँपालिका–१ मध्यहर्षाहीस्थित बीपी चोकमा शनिबार साँझ गोली प्रहारबाट घाइते भएका यादवको विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका सूचना अधिकारी चन्द्रबहादुर खड्काका अनुसार यादवको आइतबार शल्यक्रिया गरी गोली निकालिएको हो । उनको कम्मरमुनिको दायाँ तिघ्रामा गोली लागेको थियो ।
हरिनगर बजारबाट मोटरसाइकलमा घर फर्किने क्रममा लक्ष्मीनारायण मन्दिर अगाडि यादवमाथि गोली प्रहार भएको थियो ।
घटनापछि प्रहरीले देवानगञ्ज गाउँपालिका–२ का १८ वर्षीय विष्णुकुमार यादव र २६ वर्षीय जयकृष्ण यादवलाई पक्राउ गरेको छ । घटनामा संलग्न अन्य व्यक्तिको खोजी भइरहेको खड्काले बताए ।
प्रहरीका अनुसार युवतीको विषयलाई लिएर युवाहरूबीच भएको विवादबाट उत्पन्न वैमनस्यताका कारण घटना भएको खुलेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
प्रकाशित मिति: आइतबार, असोज ४, २०८३