वीरगन्ज । पर्साको पकहाँ मैनपुर गाउँपालिका–५ सबैठवास्थित गोठबाट सशस्त्र प्रहरीले १० लाख रुपैयाँभन्दा बढी मूल्यका तस्करीका कपडा बरामद गरेको छ।
शुक्रबार सशस्त्र प्रहरीले गाईभैंसीका लागि भुस राख्ने गोठबाट १० लाख ५८ हजार ५४० रुपैयाँ मूल्य बराबरका साडी, कुर्थासुरुवाल, तन्नालगायतका कपडा बरामद गरेको हो।
भारतबाट तस्करी गरी ल्याइएका कपडा गोठमा लुकाएर राखिएको गोप्य सूचनाका आधारमा सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म लहावरथकरीबाट खटिएको टोलीले ती कपडा बरामद गरेको सशस्त्र प्रहरी नायब उपरीक्षक प्रकाशचन्द्र भट्टले बताए।
बरामद भएका कपडा र कपडा लुकाएर राखिएको गोठधनीको पहिचान भने सशस्त्र प्रहरीले सार्वजनिक गरेको छैन।
बरामद कपडा आवश्यक कारबाहीका लागि वीरगन्ज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी नायब उपरीक्षक भट्टले जानकारी दिए।
प्रकाशित मिति: शुक्रबार, असोज २, २०८३