बुधबार सिंहदरबारमा बसेको राष्ट्रिय सभाको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा बोल्दै परराष्ट्र मन्त्रालयका सहसचिव कृष्णप्रसाद ढकालले प्रधानमन्त्री शाहलाई कोप–३१ मा सहभागी हुन निमन्त्रणा प्राप्त भएको जानकारी दिएका हुन्।
उनका अनुसार टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले प्रधानमन्त्री शाहलाई सम्मेलनमा सहभागी हुन निमन्त्रणा पठाएका हुन्। परराष्ट्र मन्त्रालयमा प्राप्त निमन्त्रणा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाइसकिएको उनले बताए।
यद्यपि सम्मेलनमा नेपालबाट प्रधानमन्त्रीकै नेतृत्वमा सहभागिता हुने वा अन्य कुनै तहबाट प्रतिनिधित्व हुने भन्ने विषय टुंगो लागिसकेको छैन।
सहसचिव ढकालले भने, ‘त्यो निमन्त्रणा हामीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाइसकेका छौं। कुन लेभलबाट सहभागिता हुने भन्ने विषय हामीलाई जानकारी हुन बाँकी नै छ, हामी त्यसको प्रतीक्षामा छौं।’
कोप–३१ सन् २०२६ नोभेम्बर ९ देखि २० सम्म टर्कीको अन्ताल्यामा आयोजना हुँदैछ।
नेपाल सरकारले सम्मेलनमा जलवायु न्याय, जलवायु परिवर्तनबाट भएको हानि–नोक्सानीको क्षतिपूर्ति तथा पर्वतीय मुद्दालाई सशक्त रूपमा उठाउने तयारी गरेको छ।