काठमाडौँ । बालुवाटारस्थित ‘ललिता निवास क्याम्प’ भित्रको सरकारी जग्गा हिनामिना प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले आफ्नो अनुसन्धान अन्तिम चरणमा पुर्याएको छ । सीआईबीले यो प्रकरणमा मुछिएका दुई पूर्वप्रधानमन्त्रीहरु डा.बाबुराम भट्टराई र माधवकुमार नेपालसँग समेत बयान लिएसँगै अनुसन्धान अन्तिम चरणमा पुगेको हो ।
सीआईबीले आइतबार नै आफ्नो अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाउने गरी तयारी गरे पनि अन्तिम समयमा भट्टराई र नेपालसँग समेत बयान लिएको हो । यससँगै अनुसन्धान पूर्ण बनेको सीआईबीका अधिकारीहरुको भनाइ छ । सीआईबीका प्रवक्ता नवराज अधिकारीले सम्भवतः आजै अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाइने बताए । हिजै प्रतिवेदन बुझाउने भनिएपनि प्राविधिक कारणले सम्भव नभएको उनको भनाइ थियो ।
सीआईबीले नेपाल र भट्टराईसँगसमेत बयान लिने योजनाअनुसार आइतबार प्रतिवेदन नबुझाएको बताइएको छ । सोहीअनुसार आइतबार साँझ दुई पूर्वप्रधानमन्त्रीको बयान भएको हो । सीआईबीकी प्रमुख आईजी किरण बज्राचार्य दुई प्रधानमन्त्रीसँग बयान भएको बताइन् ।
ब्युरोले जग्गा हिनामिना आरोपमा १८ जनालाई हिरासतमा राखेर ‘सङ्गठित किर्ते’ मुद्दामा अनुसन्धान गरिरहेको छ । ‘सङ्गठित किर्ते’ मुद्दामा आरोपितलाई पक्राउ गरेको ६० दिनभित्र अदालतमा मुद्दा दर्ता गर्नुपर्छ ।
सरकारले अधिग्रहण गरिसकेको १४७ रोपनी जग्गा माफियासँग मिलेर हिनामिना गरेको मुद्दा अदालतमा लैजान अब प्रहरी र सरकारी वकिलसँग ४ दिनको समय छ । त्यसमा पनि यसअघि थपिएको समय आजै सकिँदैछ । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँका प्रमुख अच्युतमणि न्यौपानेले अनुसन्धान प्रतिवेदन आएपछि अध्ययन गरेर शुक्रवार अदालतमा मुद्दा दर्ता गर्ने जानकारी दिए ।