काठमाडौं । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक स्थगित भएको छ । सिंहदरबारमा मंगलबार (भदौ ३०) बिहान ८ बजेका लागि बोलाइएको बैठकमा सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल उपस्थित नभएपछि बैठक स्थगित गरिएको हो ।
समितिका सदस्यहरू बैठकमा उपस्थित भइसकेपछि मन्त्री पोखरेलले आफू अस्वस्थ रहेको जानकारी गराएका थिए । मन्त्री उपस्थित हुन नसकेपछि समिति सभापति डा. ओजश्वी शेरचनले बैठक स्थगित भएको घोषणा गरिन् ।
भोटेकोसी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा भएको मानवीय तथा भौतिक क्षति, उद्धार, राहत, पुनर्स्थापना र पुनर्निर्माणका सम्बन्धमा शिक्षा तथा खेलकुद मन्त्रालयबाट भएका तथा भइरहेका कामबारे छलफल गर्न बैठक बोलाइएको थियो ।
बैठकमा बाढी प्रभावित क्षेत्रमा शिक्षा क्षेत्रका संरचना तथा शैक्षिक गतिविधिमा परेको असर, विद्यार्थी र शिक्षकको अवस्था तथा राहत, पुनर्स्थापना र पुनर्निर्माणका लागि मन्त्रालयले गरिरहेका कामबारे मन्त्री र सचिवसँग जानकारी लिने कार्यसूची थियो ।
त्यस्तै, मन्त्रालयका काम–कारबाहीका क्रममा देखिएका समस्या तथा चुनौती र आगामी दिनमा मन्त्रालयले अवलम्बन गर्ने रणनीतिका विषयमा समेत छलफल गर्ने तयारी थियो । बैठकमा मन्त्री पोखरेलसँगै मन्त्रालयका सचिवलाई पनि बोलाइएको थियो ।
प्रकाशित मिति: मंगलबार, भदौ ३०, २०८३