काठमाडौं । रसुवाको भोटेकोसीमा आएको बाढीमा परेर ३४ देशका ६०७ विदेशी पर्यटक बेपत्ता भएका छन् ।
पर्यटन विभागका सूचना अधिकारी सुरज घिमिरेका अनुसार विभिन्न कम्पनीमार्फत कैलाश मानसरोवर र जनैपूर्णिमा मेलाका लागि गोसाइँकुण्ड गएका पर्यटकहरू बाढीपछि सम्पर्कविहीन भएका हुन् ।
बेपत्ता विदेशी पर्यटकमध्ये २६९ पुरुष, ३२९ महिला र नौजनाको लिंग पहिचान खुलेको छैन । सबैभन्दा धेरै भारतीय नागरिक बेपत्ता भएका छन् । भारतका १८९ जना सम्पर्कविहीन छन् ।
त्यस्तै, अष्ट्रेलियाका ३३, बेलारुसका २, क्यानडाका ३०, फिनल्यान्डका १, फ्रान्सका ४, जर्मनीका ८, हंगेरीका १, आयरल्यान्डका २, इजरायलका १, लिथुआनियाका १, मलेसियाका ५५, नेदरल्यान्डका २, न्युजिल्यान्डका ५, पोर्चुगलका २, रुसका ६, सिंगापुरका ९, दक्षिण अफ्रिकाका ६, स्पेनका २, युक्रेनका ५४, बेलायतका ३२, अमेरिकाका ६५, जापानका ५, फिलिपिन्सका १, काजकिस्तानका ३ र बेल्जियमका २ जना बेपत्ता छन् ।
यसैगरी, स्वीडेनका १, लाटभियाका ३३, स्वीट्जरल्यान्डका १, इटलीका २, चीनका ३७, भियतनामका १, इस्टोनियाका २ र दक्षिण कोरियाका ९ जना पर्यटक पनि बेपत्ता छन् ।
विभागका अनुसार बाढीमा परेर नेपालका १८८ पर्यटकसमेत बेपत्ता भएका छन् । उनीहरूमध्ये १६१ पुरुष र २७ महिला छन् । बेपत्ता नेपालीमा विदेशी पर्यटकका सहयोगी तथा कैलाश मानसरोवर र गोसाइँकुण्ड घुम्न गएका नेपाली रहेको विभागले जनाएको छ ।
सरकारले विपद्का बीच उद्धार कार्यलाई निरन्तरता दिएको छ । हालसम्म ३१० विदेशी पर्यटकको सफल उद्धार गरिएको विभागले जनाएको छ । उद्धार हुनेमा २५८ पुरुष र ५२ महिला छन् ।
त्यस्तै, बाढीपछि सम्पर्कविहीन भएकामध्ये १३ जना—तीन पुरुष, नौ महिला र एक अन्य—सम्पर्कमा आएका छन् ।
स्थानीय प्रशासन र सुरक्षा निकायले बेपत्ता पर्यटकको खोजी तथा राहत कार्यलाई तीव्रता दिएका छन् ।