काठमाडौँ । बारा क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यमा जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष तथा गठबन्धनका साझा उम्मेदवार उपेन्द्र यादव निर्वाचित भएका छन् ।
यादव आफ्ना निकटतम प्रतिस्पर्धी जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहालाई ५ हजार ८१ मतान्तरले पछि पार्दै निर्वाचित भएका हुन् ।
यादवले २८ हजार चार १५ मत प्राप्त गर्दा जनमतका शिवचन्द्र कुशवाहाले २३ हजार ३ सय ३४ मत पाएका छन् । यसैगरी एमालेका पुरुषोत्तम पौडेलले १० हजार २१६ मत प्राप्त गर्दै तेस्रो स्थानमा रहँदा रास्वपाका रमेश खरेलले २ हजार ८२९ मत पाएका छन् । पाँचौँ स्थानमा रहेका आम जनता पार्टीका अरुण ज्ञवालीले २ हजार ७ सय ३८ मत प्राप्त गरेका छन् ।
एक लाख पाँच हजार २४८ मतदाता रहेको यो निर्वाचन क्षेत्रमा ६९ हजार १०७ मत खसेको जिल्ला निर्वाचन कार्यालय बाराका प्रमुख सरोज चौधरीले बताए। त्यसमध्ये ३७ हजार ४९ पुरुष र ३२ हजार ५८ महिलाको मत खसेको थियो।
वैशाख १० गते भएको उपनिर्वाचनमा ६५ प्रतिशत मतदान भएको थियो। यसअघि मंसिर ४ गते भएको संघीय निर्वाचनमा बारा-२ बाट निर्वाचित रामसहायप्रसाद यादव उपराष्ट्रपति निर्वाचित भएपछि उपनिर्वाचन भएको हो।
प्रकाशित मिति: बुधबार, वैशाख १३, २०८०