नुवाकोट । भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी बाढीले घर–बस्ती बगाएपछि नुवाकोटका बाढीग्रस्त बजारमा यस वर्ष तीजको रौनक हराएको छ । बाढीले खण्डहर बनेका बस्तीहरू सुनसान छन् ।
गत वर्ष तीजका बेला भक्तजनको भीड र चहलपहल हुने देवीघाटस्थित शिवधाम, ढुंगेको महादेव मन्दिर, तारकेश्वर तथा बेत्रावतीका शिव मन्दिरमा यस वर्ष कुनै उत्साह देखिएको छैन । विगतमा ती मन्दिरमा तीज मनाउन महिलाको भीड लाग्ने गरे पनि यस वर्ष बाढीका कारण सुनसान बनेका छन् ।
विशेषगरी हिन्दु महिलाले तीजमा माइती गएर दर खाने, व्रत बस्ने र भगवान् शिवको पूजाआराधना गर्ने परम्परा छ । तर भदौ १० गते आएको प्रलयकारी बाढीले घरबस्ती नै उजाडेपछि बाढीपीडित महिलाले यस वर्ष तीज मनाउन सकेका छैनन् ।
विदुर नगरपालिका–५ देवीघाटकी बाढीपीडित सम्झना थापाले घर नै बाढीले बगाएपछि तीज मनाउने अवस्थामा नरहेको बताइन् । “घर बाढीले बढारिदिएको छ, कुन खुसी, कुन उत्साह र कुन रौनकले तीज मनाउन सकिन्छ र ?” उनले दुःखेसो पोखिन् ।
यस्तै, विदुर नगरपालिका–१ ढुंगेमा रहेको माइतीघर बाढीले बगाएपछि भगवती नेपालले पनि यस वर्ष तीज मनाउन नसकेको बताइन् । “पहिले पो रौनक र उत्साह थियो, अहिले उजाड छ, कसरी तीज मनाऊँ ?” उनले प्रश्न गरिन् ।
बाढीले माइतीघरसमेत बगाएपछि अधिकांश चेलीका लागि तीजभन्दा आमाबुबाको व्यवस्थापन र सुरक्षित बसोबास मुख्य विषय बनेको छ । ढुंगेकी बाढीपीडित रूपा थापाले अहिले पुनःस्थापना र सुरक्षित बास नै पहिलो आवश्यकता रहेको बताइन् ।
बाढीले बजार नै उजाडेर खण्डहर बनाएका ढुंगेबजार, त्रिशूलीबजार, देवीघाटबजार, बेत्रावती, शान्तिबजार र महादेवफाँटलगायत स्थानमा यस वर्ष तीजको कुनै रौनक छैन । केही व्यक्तिले परम्परालाई निरन्तरता दिन औपचारिक रूपमा पर्व मनाए पनि बाढीले उजाडिएका बस्तीमा विगतको जस्तो उत्साह र चहलपहल देखिएको छैन ।
प्रकाशित मिति: सोमबार, भदौ २९, २०८३