काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले मुलुकको समग्र विकास निर्माण र सिर्जनशीलताका लागि शान्तिसुरक्षा पहिलो आधारभूत पूर्वसर्त भएको बताएका छन्।
आइतबार जेनजी आन्दोलनका क्रममा पूर्णरूपमा क्षतिग्रस्त भई पुनर्निर्माण तथा प्रबलीकरण गरिएको प्रहरी वृत्त गौशालाको भवन उद्घाटन गर्दै महानिरीक्षक कार्कीले नागरिकमा सुरक्षाको प्रत्याभूति नभएसम्म कुनै पनि क्षेत्रमा प्रगति सम्भव नहुने बताए।
उनले पशुपतिनाथ क्षेत्रमा पुनर्निर्मित भवनले नेपाल प्रहरीको दृढता, पुनरुत्थानको क्षमता र नागरिकप्रतिको सेवाभाव झल्काएको उल्लेख गरे।
भौतिक संरचनासँगै प्रहरी कर्मचारीको सोच, आचरण र सेवाभाव अझ मानवीय तथा जनमैत्री हुनुपर्ने उनको भनाइ छ।
महानिरीक्षक कार्कीले आन्दोलनका क्रममा क्षतिग्रस्त ४ सय ५९ संरचनामध्ये हालसम्म ४ सय ५२ वटा भवनको पुनर्निर्माण तथा प्रबलीकरण भइसकेको जानकारी दिए। नागरिक र स्थानीय तहको अपनत्वकै कारण पुनर्निर्माणको काम सम्भव भएको उनले बताए।
त्यस्तै, समाजमा तोडफोड र आगजनी गर्ने नकारात्मक प्रवृत्ति रोक्नुका साथै त्यस्ता हातलाई सिर्जनशीलता र समाज निर्माणको दिशामा लगाउनु सुरक्षा संयन्त्रको दायित्व रहेको उनले बताए।
महानिरीक्षक कार्कीले नयाँ प्रविधि, आधुनिक उपकरण र नागरिकको विश्वासका साथ कार्यसम्पादन गर्न प्रहरी अधिकृत तथा जवानहरूलाई निर्देशनसमेत दिए।
प्रकाशित मिति: आइतबार, भदौ २८, २०८३