काठमाडौं । भोटेकोशी बाढी प्रभावित परिवारलाई सरकारले स्थायी आवास निर्माण नभएसम्म मासिक १५ हजार रुपैयाँ आवास भाडाबापत उपलब्ध गराउने भएको छ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री विक्रम तिमल्सिनाका अनुसार गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले चार सदस्यसम्मको परिवारलाई मासिक १५ हजार रुपैयाँ दिने निर्णय गरेको हो। चार जनाभन्दा बढी सदस्य भएका परिवारलाई प्रत्येक थप सदस्यबापत २ हजार रुपैयाँ अतिरिक्त उपलब्ध गराइनेछ।
यदि कुनै परिवारले आवास भाडा लिन नचाहेमा सरकारले स्थायी आवास निर्माण नभएसम्म अस्थायी आवासको व्यवस्था गर्ने विकल्पसमेत दिएको मन्त्री तिमल्सिनाले बताए।
आवश्यक विवरण संकलनका लागि सम्बन्धित सबै स्थानीय तहमा फाराम पठाइसकिएको उनले जानकारी दिए।
सरकारले प्रारम्भिक क्षति तथा नोक्सानी मूल्याङ्कन सम्पन्न गरिसकेको र विस्तृत आवश्यकता मूल्याङ्कनको प्रक्रिया जारी रहेको मन्त्री तिमल्सिनाले बताए। विस्तृत मूल्याङ्कनका आधारमा आवश्यक स्रोत सुनिश्चित गरी पुनर्निर्माण तथा पुनर्स्थापनाको काम तीव्र रूपमा अघि बढाइने उनको भनाइ छ।
रसुवा, नुवाकोटसहित बाढी प्रभावित सबै क्षेत्रमा नागरिकको सुरक्षित पुनर्स्थापना, पूर्वाधार पुनर्निर्माण र जीवनयापन पुनःस्थापनाका लागि सरकार प्रतिबद्ध रहेको उनले बताए।
प्रकाशित मिति: आइतबार, भदौ २८, २०८३