जनकपुरधाम । धनुषा जिल्ला अदालतको मुख्य गेट अगाडि एक महिलाले आत्मदाहको प्रयास गरेकी छन्। जनकपुरधाम उपमहानगरपालिका–३ की करिब ५५ वर्षीया फूलकुमारी रजकले बुधबार बिहान आफ्नै शरीरमा पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरेकी हुन्।
मिटरब्याजी हरेराम साह र गोपाल साहको थुनछेक बहस चलिरहेका बेला पीडितहरू अदालत परिसरमा प्रदर्शनमा उत्रिएका थिए। सोही क्रममा अदालतको मुख्य गेट अगाडि पुगेकी रजकले साहद्वयलाई कारबाही गर्नुपर्ने माग गर्दै शरीरमा पेट्रोल छर्केकी थिइन्।
शरीरमा पेट्रोल छर्किसकेको अवस्थामा प्रहरी निरीक्षक अरविन्द साह नेतृत्वको टोलीले तत्काल उनलाई नियन्त्रणमा लिएर उद्धार गरेको प्रहरीले जनाएको छ।
घटनापछि धनुषा जिल्ला अदालत परिसरको सुरक्षा व्यवस्था थप कडा पारिएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।
प्रकाशित मिति: बुधबार, साउन २७, २०८३