काठमाडौं । अधिकारकर्मीहरूले गृहमन्त्री सुधन गुरुङले पत्रकारविरुद्ध दिएको धम्कीपूर्ण अभिव्यक्ति फिर्ता लिँदै सार्वजनिक रूपमा माफी माग्नुपर्ने माग गरेका छन् ।
बिहीबार (भदौ २५) विज्ञप्ति जारी गर्दै उनीहरूले भदौ २३ गते जेनजी सहिद दिवसका अवसरमा नयाँ बानेश्वरमा आयोजित कार्यक्रममा गृहमन्त्री गुरुङले दिएको अभिव्यक्ति समग्रमा आपत्तिजनक रहेको बताएका हुन् ।
‘उक्त अभिव्यक्तिमध्ये पत्रकारविरुद्ध प्रयोग गरेको धम्कीपूर्ण शब्दप्रति हामी खेद व्यक्त गर्दछौँ,’ विज्ञप्तिमा भनिएको छ ।
देशमा शान्ति, सुरक्षा तथा अमनचयन कायम गर्ने प्रमुख जिम्मेवारीमा रहेका र विपद् व्यवस्थापनको अभिभारा बोकेका गृहमन्त्रीको ‘अराजक’ शैली र अभिव्यक्तिले बेलाबखत मुलुकको शासन प्रणालीकै गरिमा घटाएको अधिकारकर्मीहरूको ठहर छ ।
गृहमन्त्रीको चयन तथा उनीमाथि लागेका आरोपमाथि गरिएको अनुसन्धानलाई आफूहरूले अझै शंकाको घेरामै राखेको उल्लेख गर्दै उनीहरूले पत्रकारमाथि गुरुङले गरेको आक्रामक टिप्पणीले पदको मर्यादा, संयम र गाम्भीर्य नबुझेको अनुभूति भएको बताएका छन् ।
पत्रकारको दायित्व राज्य संयन्त्रमा जिम्मेवारी वहन गरेका व्यक्तिमाथि प्रश्न गर्नु र उनीहरूलाई जवाफदेही बनाउनु रहेको अधिकारकर्मीहरूले बताएका छन् । पञ्चायतकालदेखि नै सञ्चारजगत्ले विभिन्न कठिनाइ, चुनौती र धाकधम्कीबीच आफ्नो जिम्मेवारी पूरा गर्दै आएको उनीहरूको भनाइ छ ।
‘फलतः नेपालमा लोकतन्त्र अडेको छ, सुशासनको आधार बनेको छ र भ्रष्टाचार उदांग पार्नमा सहयोग पुगेको छ,’ विज्ञप्तिमा उल्लेख छ ।
विगतमा विभिन्न अप्ठ्यारो परिस्थितिमा सञ्चारजगत्ले जिम्मेवार भूमिका निर्वाह गरेको स्मरण गर्दै उनीहरूले अधिनायकवादी शैली अपनाउने राज्य सञ्चालकहरूसँग समेत नेपाली पत्रकारहरूले सामना गर्दै आएको बताएका छन् ।
सञ्चारकर्मीहरूले डर, त्रास र धम्कीका सामु पछि नहटी आमनागरिकलाई सुसूचित गराउँदै आएको उनीहरूको भनाइ छ ।
जिम्मेवार पत्रकारले आचारसंहिताविपरीत बिनाआधार र प्रमाण कसैका बारेमा समाचार सम्प्रेषण गर्न नहुने उल्लेख गर्दै अधिकारकर्मीहरूले पत्रकारिता क्षेत्रमा तथ्य र प्रमाणमा आधारित समाचार सम्प्रेषणको आवश्यकता औँल्याएका छन् ।
‘विगतमा सुनकाण्ड, नक्कली शरणार्थीकाण्ड, सहकारीकाण्डजस्ता अनगिन्ती काण्डमा सत्यतथ्य उजागर गर्ने कार्यमा पछि नहटेका पत्रकारहरू गृहमन्त्रीको धम्कीपूर्ण बोलीबाट हतोत्साही हुने छैनन् भन्नेमा हामी विश्वस्त छौँ,’ विज्ञप्तिमा भनिएको छ ।
विज्ञप्ति जारी गर्नेमा सुशील प्याकुरेल, शोभाकर बुढाथोकी, दिनेश त्रिपाठी, श्यामकुमारी साह, सोम निरौला, सुबोध प्याकुरेल र अभिषेक अधिकारी छन् ।
प्रकाशित मिति: बिहीबार, भदौ २५, २०८३