काठमाडौं । जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका शहीदहरूको स्मृतिमा संसद् भवन परिसरमा निर्माण गर्न लागिएको जेनजी मेमोरियल पार्कको शिलान्यास गरिएको छ ।
आइतबार सरकार र जेनजी शहीद परिवारका सदस्यहरूले संयुक्त रूपमा पार्कको शिलान्यास गरेका हुन् । शहीदहरूको योगदानलाई चिरस्थायी बनाउने उद्देश्यले पार्क निर्माण गर्न लागिएको हो ।
शिलान्यास कार्यक्रममा गृहमन्त्री सुदन गुरुङले देशका लागि ज्यान आहुति दिने जेनजीहरूको सपना पूरा गर्ने दिशामा सरकार अघि बढिरहेको बताए ।
आन्दोलनका क्रममा देखिएको सपना, शहीदहरूले दिएको बलिदान र जनताको अपेक्षा पूरा गर्न केही समय लाग्न सक्ने भए पनि त्यसको उद्देश्य पूरा गर्ने दिशामा सरकार दृढताका साथ अघि बढ्ने उनले बताए ।
पार्क निर्माण गर्दैमा मात्रै जेनजी शहीदहरूले न्याय पाउन नसक्ने उल्लेख गर्दै मन्त्री गुरुङले न्याय सुनिश्चित गर्न अझै धेरै काम गर्न बाँकी रहेको बताए ।
कार्यक्रममा भौतिक तथा पूर्वाधार मन्त्री सुनिल लम्सालले नेपालमा विगतमा विभिन्न समुदाय, वर्ग र क्षेत्रका अधिकार प्राप्तिका लागि भएका आन्दोलनले महत्वपूर्ण राजनीतिक तथा सामाजिक परिवर्तन ल्याएको बताए ।
प्राप्त उपलब्धिलाई संस्थागत गर्दै जनताको जीवनमा प्रत्यक्ष परिवर्तन ल्याउनु अहिलेको आवश्यकता रहेको उनले उल्लेख गरे ।
हजारौँ सपना र बलिदानबाट प्राप्त अवसरलाई खेर जान नदिई सुशासन, विकास र समृद्धिको बाटोमा देशलाई अघि बढाउने प्रतिबद्धता पनि मन्त्री लम्सालले व्यक्त गरे ।
यसअघि शुशिला कार्की नेतृत्वको अन्तरिम सरकारले जेनजी शहीदहरूको स्मृतिमा मेमोरियल पार्क निर्माण गर्ने निर्णय गरेको थियो ।
प्रकाशित मिति: आइतबार, भदौ २१, २०८३