काठमाडौं । रसुवास्थित भोटेकोसी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म १ हजार ३४१ जनाको शव फेला परेको छ । अझै ४ हजार ४४ जना सम्पर्कविहीन छन् ।
प्रहरी प्रधान कार्यालय नक्सालले आइतबार बिहान सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार फेला परेका शवमध्ये ३२५ महिला, ५२३ पुरुष तथा ४९३ वटा शव पहिचान गर्न नसकिने अवस्थामा छन् ।
सम्पर्कविहीनमध्ये स्वदेशी पुरुष २ हजार ८६३, महिला ५७५ तथा विदेशी नागरिकतर्फ पुरुष २६९, महिला ३३२ र अन्य पाँच जना रहेका छन् ।
प्रहरीका अनुसार बाढी प्रभावित क्षेत्रमा बेपत्ताको खोजी तथा उद्धार कार्यलाई सुरक्षा निकायले निरन्तरता दिइरहेको छ ।
फेला परेका शवमध्ये १ हजार ३७ शव सुरक्षित रूपमा जमिनमा गाडेर व्यवस्थापन गरिएको छ भने बाँकी शवको पहिचान तथा व्यवस्थापन प्रक्रिया अघि बढाइएको छ ।
बाढीपछि हालसम्म ९ हजार १५१ जना घाइतेको उद्धार गरिएको छ । उद्धार गरिएकामध्ये ३ हजार ९८ जनालाई सुरक्षित रूपमा होल्डिङ सेन्टरमा राखिएको प्रहरीले जनाएको छ ।
यसैगरी, मृतक १ हजार २८६ जना तथा मृतकका आफन्त १ हजार १८६ जना गरी २ हजार ४७२ जनाको डीएनए नमुना संकलन गरिएको छ ।
बेपत्ताको पहिचान तथा शवको सनाखतका लागि डीएनए नमुना संकलनलाई प्राथमिकताका साथ अघि बढाइएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेले जानकारी दिए ।
प्रकाशित मिति: आइतबार, भदौ २१, २०८३