काठमाडौं । रसुवास्थित २२ मेगावाट क्षमताको चिलिमे जलविद्युत् आयोजनाको सुरुङभित्र ६ जना फसेको आशंका गरिएको छ ।
नेपाल विद्युत् प्राधिकरणका कामु कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठका अनुसार उनीहरूको उद्धारका लागि चिलिमे जलविद्युत् कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) बाबुराजा महर्जनसहितको टोली परिचालन भएको छ ।
श्रेष्ठका अनुसार आयोजनाको कन्ट्रोल रुममा ६ जना फसेको प्रारम्भिक अनुमान गरिएको छ । उद्धारका लागि कम्पनीको टोलीले काम गरिरहेको र प्राधिकरणले आवश्यक समन्वय गरिरहेको उनले बताए ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद तथा सुरुङविद् श्रीराम न्यौपानेले पनि चिलिमेको सुरुङभित्र ६ जना फसेको सूचना प्राप्त भएको सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।
आफ्नो अनुभव र प्राविधिक ज्ञान प्रयोग गर्दै आवश्यक सुझाव दिन तथा आवश्यकता परेको अवस्थामा उद्धार कार्यमा प्रत्यक्ष सहभागी हुन आफू घटनास्थलतर्फ जाँदै गरेको न्यौपानेले बताएका छन् ।
यही भदौ १० गते भोटेकोसी नदीमा आएको हिमबाढीका कारण चिलिमे जलविद्युत् आयोजनामा ठूलो क्षति पुगेको छ । आयोजनाको सुरुङभित्र फसेका भनिएका व्यक्तिहरूको अवस्थाबारे थप विवरण आउन बाँकी छ ।
प्रकाशित मिति: आइतबार, भदौ २१, २०८३