राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार सबैभन्दा धेरै चितवनमा ३५९ जनाको शव तथा मानव अंग भेटिएको छ । यस्तै, नवलपरासी पूर्वमा २१९, नवलपरासी पश्चिममा २१२, नुवाकोटमा १८४, रसुवामा १४०, गोरखामा ७२, धादिङमा ६३ र तनहुँमा ३८ जनाको शव तथा मानव अंग फेला परेको छ ।
प्राधिकरणका अनुसार बाढी प्रभावित क्षेत्रमा अझै करिब ५ हजार ८३ जना सम्पर्कविहीन छन् । रसुवा जिल्ला प्रशासन कार्यालयबाट २ हजार १३० जना र नुवाकोट जिल्ला प्रशासन कार्यालयबाट २ हजार ३४० जना सम्पर्कविहीन भएको विवरण प्राप्त भएको छ ।
यस्तै, बाढी प्रभावित क्षेत्रमा ५८३ जना विदेशी नागरिकसमेत सम्पर्कविहीन रहेको प्राधिकरणले जनाएको छ ।
बाढी प्रभावित क्षेत्रमा हालसम्म ५ हजार ३९७ जना घाइतेको उपचार गरिएको छ भने १३ हजार ९३ जनाको उद्धार गरिएको छ ।
उद्धार तथा खोजी कार्यका लागि प्रभावित क्षेत्रमा २१ हजार ४२१ सुरक्षाकर्मी परिचालन गरिएको छ । जसमा ७ हजार ९३१ प्रहरी, ९ हजार २८७ नेपाली सेना र ४ हजार २०३ सशस्त्र प्रहरी छन् ।
विभिन्न जिल्लामा स्थापना गरिएका होल्डिङ सेन्टरमा हाल ४ हजार ५२१ जना रहेको प्राधिकरणले जनाएको छ ।