काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले नेपालमा नागरिकको सुरक्षा, न्याय, सेवा–सुविधा र रोजगारीका अवसर कमजोर बन्दै गएको आरोप लगाएका छन्।
प्रतिनिधिसभाको बैठकमा बोल्दै साम्पाङले देशलाई देशजस्तो बनाउन सरकार गम्भीर भएर काम गर्नुपर्ने बताए।
उनले नेपालमा नागरिकसँगै सांसदसमेत सुरक्षित नभएको दाबी गर्दै राज्यले नागरिकलाई सबैभन्दा पहिले सुरक्षा दिनुपर्ने बताए।
‘नेपालमा कोही पनि सुरक्षित छैनन्। सांसदसमेत सुरक्षित भएको अवस्था छैन। राज्यले नागरिकलाई सबैभन्दा पहिले सुरक्षा दिनुपर्छ,’ उनले भने, ‘देशलाई देशजस्तो बनाइराख्नका लागि हामीले के–के गर्नुपर्छ, त्यसका लागि तयार छौँ।’
साम्पाङले प्रधानमन्त्री बालेन्द्र शाहले नैतिक तथा पदीय जिम्मेवारी बहन गर्नुपर्ने बताए। प्रधानमन्त्रीलाई संसद्मा उपस्थित भएर सांसदका प्रश्नको जवाफ दिन आफूहरूले लामो समयदेखि माग गर्दै आए पनि प्रधानमन्त्रीले बालहठ देखाएको उनको आरोप छ।
देशमा आगजनी, तोडफोड, धम्की तथा धार्मिक विवादका घटना बढिरहेको भन्दै उनले सरकार कमजोर हुँदा यस्ता गतिविधि बढ्ने गरेको बताए। तराई–मधेसमा नागरिकले अझै असुरक्षित महसुस गर्नुपर्ने अवस्था रहेको उनको भनाइ छ।
न्याय प्रणालीप्रति पनि प्रश्न उठाउँदै साम्पाङले आन्दोलनरत नागरिकलाई सरकारले प्रत्यक्ष भेटेर उनीहरूको समस्या बुझ्नुपर्ने बताए। प्रधानमन्त्री र मन्त्रीहरू एसी भएको कोठामा बसेर मात्रै देशको अवस्था बुझ्न नसक्ने उनको टिप्पणी छ।
‘स्टेटसबाट कता के गर्ने भन्ने कुराहरू सुन्छु, त्यस्तो केटाकेटीपनले देश चल्दैन। दुई तिहाइको नजिकको सरकारलाई काम गर्न केले रोकेको छ?’ उनले प्रश्न गरे।
प्रकाशित मिति: मंगलबार, साउन २६, २०८३