काठमाडौं । चीनको तिब्बतस्थित केरुङबाट ११४ जना नेपाली नागरिक आज (भदौ १८) नेपाल फर्किन लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
बिहीबार परराष्ट्र मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले केरुङबाट ती नेपाली तातोपानी नाका हुँदै नेपाल आउन लागेको जानकारी दिएका हुन् ।
केरुङबाट फर्किन लागेका नेपाली उद्धार गरिएका व्यक्ति भएको भन्दै सामाजिक सञ्जालमा सूची भाइरल भइरहेको भए पनि त्यसमा सत्यता नरहेको उनले स्पष्ट पारे ।
“केरुङबाट ११४ जना नेपाली नागरिक आज तातोपानी नाका हुँदै नेपालतर्फ आउँदै छन् । यस सन्दर्भमा उनीहरू उद्धार गरिएका व्यक्तिहरू हुन् भन्दै सामाजिक सञ्जालमा एउटा सूची भाइरल भइरहेको छ, तर वास्तवमा त्यसो होइन,” उनले भने ।
उनका अनुसार फर्किन लागेकामध्ये अधिकांश रसुवा जिल्लाका पासवाहक हुन् । उनीहरू व्यापार–व्यवसायका लागि नियमित रूपमा चीन आवतजावत गर्ने गरेको प्रवक्ता क्षेत्रीले बताए ।
हाल करिब १ हजार ४०० नेपाली नागरिक केरुङमा रहेको उनले जानकारी दिए । केरुङबाट चाँडै नेपाल फर्कन चाहने नेपाली नागरिकका लागि परराष्ट्र मन्त्रालयले चिनियाँ पक्षसँग समन्वय गरिरहेको उनले बताए ।
यसैबीच, भदौ १० गते आएको बाढीपछि सीमाको चिनियाँ क्षेत्रमा करिब १०० नेपाली नागरिक अझै सम्पर्कविहीन रहेको मन्त्रालयले जनाएको छ ।
प्रकाशित मिति: बिहीबार, भदौ १८, २०८३