काठमाडौं । सर्वोच्च अदालतको नयाँ भवनमा बुधबार (भदौ १७) राति आगलागी भएको छ । भवनको भुइँतलास्थित ‘अन्डरग्राउन्ड’मा आगलागी हुँदा केही कागजपत्र तथा मिसिल जलेका छन् ।
आगलागीको कारणबारे सर्वोच्च अदालत प्रशासन र प्रहरीले छुट्टाछुट्टै अनुसन्धान थालेका छन् । सर्वोच्चका प्रवक्ता अर्जुन कोइरालाका अनुसार आगलागीबाट सामान्य क्षति भएको छ ।
उनका अनुसार राति करिब १ बजेतिर अन्डरग्राउन्डमा आगलागी भएको थियो । त्यहाँ अभिलेखमा राखिएका केही मिसिल जले पनि ठूलो क्षति नभएको उनले बताए ।
“चुरोट खाएर फालेको हो कि, विद्युत् सर्ट भएर हो वा के हो– प्रशासनिक र प्रहरीको तहबाट छानबिन भइरहेको छ,” प्रवक्ता कोइरालाले बताए ।
आगलागी नियतवश गरिएको हो कि होइन भन्ने विषयमा पनि प्रहरीले अनुसन्धान गरिरहेको उनले जानकारी दिए । घटनास्थल नजिकैको पावर सर्किटसमेत जलेको देखिएको र आगलागीको वास्तविक कारण अनुसन्धानपछि मात्रै खुल्ने उनको भनाइ छ ।
प्रकाशित मिति: बिहीबार, भदौ १८, २०८३