काठमाडौं । रसुवाको भोटेकोसीमा बुधबार बिहान गएको विनाशकारी बाढीपहिरोमा परी मृत्यु भएका तथा अझै बेपत्ता रहेका व्यक्तिको पहिचानका लागि खोज तथा उद्धारसँगै डीएनए परीक्षण प्रक्रिया अघि बढाइएको छ।
मृतक तथा बेपत्ताका आफन्तबाट काठमाडौंको महाराजगञ्जस्थित नेपाल प्रहरी अस्पतालमा डीएनए नमुना संकलन भइरहेको छ। पहिचानको उद्देश्यले सोमबारदेखि नमुना संकलन सुरु गरिएको हो।
नेपाल प्रहरी अस्पतालमा बुधबार मात्रै पीडितका आफन्तबाट ६० वटा डीएनए नमुना संकलन गरिएको छ।
सोमबारदेखि सुरु भएको प्रक्रियामा बाढीपहिरोमा आफन्त बेपत्ता भएका वा मृत्यु भएको आशंका गरिएका ११ जना विदेशी नागरिकले समेत डीएनए नमुना दिएका छन्।
संकलित नमुनालाई मृतक तथा बेपत्ताको जैविक नमुनासँग परीक्षण गरी पहिचान खुलाउने प्रक्रिया अघि बढाइने जनाइएको छ।
प्रकाशित मिति: बुधबार, भदौ १७, २०८३