प्राधिकरणका अनुसार बुधबार दिउँसो १ बजेसम्म विभिन्न जलविद्युत् केन्द्र, वितरण केन्द्र, ग्रिड सबस्टेसन तथा प्रसारण लाइन आयोजनामा कार्यरत ४९ जना कर्मचारी तथा कामदारसँग सम्पर्क स्थापित हुन सकेको छैन। उनीहरूको खोज तथा उद्धारकार्य चौबिसै घण्टा जारी रहेको प्राधिकरणले जनाएको छ।
सम्पर्कविहीन हुनेमध्ये माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाका मात्रै ४२ जना कर्मचारी तथा कामदार रहेका छन्। उक्त आयोजना ६० मेगावाट क्षमताको हो।
त्यस्तै, देवीघाट जलविद्युत् केन्द्रका एक सुरक्षागार्ड, त्रिशूली जलविद्युत् केन्द्रका एक कर्मचारी र दुई सुरक्षागार्ड, रसुवा वितरण केन्द्रका एक कामदार, त्रिशूली–३ ‘बी’ हब २२० केभी सबस्टेसनका एक सुरक्षागार्ड तथा चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइन आयोजनाका एक कर्मचारी पनि सम्पर्कविहीन छन्।
टनेलमार्फत पावर हाउस प्रवेशको प्रयास
बाढीका कारण ढुंगा, बालुवा र माटोलगायत पदार्थ थुप्रिएपछि त्रिशूली नदीको जलस्तर निकै बढेको प्राधिकरणले जनाएको छ। टनेलको मुख्य प्रवेशमार्गसहित पावर हाउस क्षेत्रसमेत ठूलो मात्रामा पुरिएको छ।
पावर हाउससम्म पुग्न विभिन्न उपकरण प्रयोग गरी टनेलभित्र प्रवेश गर्ने बाटो निर्माण भइरहेको छ। उद्धारका क्रममा ठूला ढुंगा भेटिएपछि तिनलाई ब्लास्ट गरी हटाउने कामसमेत भइरहेको प्राधिकरणले जनाएको छ।
टनेलको मुख खोलाको जलस्तरभन्दा तल रहेकाले टनेल तथा निर्माण गरिएको प्रवेशमार्गमा जम्मा भएको पानी पम्पिङ गरी बाहिर निकाल्ने डिवाटरिङ (पानी निकासी) कार्य पनि जारी छ।
प्राधिकरणले विपद्मा परेका कर्मचारी तथा कामदारको उद्धारका लागि उपलब्ध सम्पूर्ण स्रोतसाधन अधिकतम रूपमा परिचालन गरिएको जनाएको छ।
सम्पर्कविहीन कर्मचारी तथा कामदारको अवस्था अझै यकिन हुन नसकेको र खोज तथा उद्धारकार्य जारी रहेकाले उद्धारकार्यको प्रगतिसँगै थप विवरण सार्वजनिक गरिने प्राधिकरणले जनाएको छ।