काठमाडौं । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले भोटेकोशी बाढीमा ज्यान गुमाएका तर पहिचान खुल्न नसकेका नागरिकका शव कानुनी र वैज्ञानिक आधारमा जमिनमुनि व्यवस्थापन गरिएको स्पष्ट पारेका छन्।
बुधबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले डीएनए परीक्षणमार्फत पहिचान खुलेपछि सम्बन्धित परिवारलाई शव जिम्मा लगाइने बताए। उनले यस विषयमा अनावश्यक भ्रममा नपर्नसमेत आग्रह गरे।
प्रधानमन्त्री शाहले ठूलो विपत्तिको अवस्थामा उद्धार तथा राहतका लागि विदेशी सहयोग लिन नहुने भन्ने नरहेको बताए। बाढी प्रभावित क्षेत्रमा सहयोगका लागि सुरुदेखि नै अन्तर्राष्ट्रिय सहयोग लिने प्रयास गरिएको उनको भनाइ छ।
उनका अनुसार चीन र भारतबाट प्राविधिकसहितको टोलीले सुरुदेखि नै प्रभावित क्षेत्रको रेकी गरेको थियो।
टनेलमा आएको विपत्ति विशेष प्रकृतिको रहेको बताउँदै प्रधानमन्त्री शाहले पहिरोले टनेल थुनिएको नभई बाढीसँगै आएको हिलो, माटो र ढुंगाले टनेल पुरिएको बताए। यस्तो अवस्थामा टनेल खुलाउन तत्काल प्रयोग गर्न सकिने प्रविधि उपलब्ध नरहेको उनको भनाइ छ।
प्रकाशित मिति: बुधबार, भदौ १७, २०८३