काठमाडौं । भोटेकोसी बाढीमा परी मृत्यु भएकाहरूको पहिचानमा सहयोग गर्न चीनबाट चार सदस्यीय फरेन्सिक टोली नेपाल आउने भएको छ ।
परराष्ट्र मन्त्रालयले मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले चिनियाँ फरेन्सिक टोली मंगलबार साँझ नेपाल आइपुग्ने जानकारी दिए ।
“चीनबाट चार जनाको फरेन्सिक टोली आज साँझ आइपुग्दैछ,” प्रवक्ता क्षेत्रीले भने ।
यसअघि डीएनए विश्लेषणमा विशेषज्ञता हासिल गरेको भारतको १९ सदस्यीय फरेन्सिक टोलीले अगस्ट २९ देखि नेपाली अधिकारीसँग समन्वय गरी काम गरिरहेको छ । शवको व्यवस्थापन तथा संरक्षणका लागि आवश्यक विशिष्टीकृत उपकरणसमेत प्राप्त भइरहेको मन्त्रालयले जनाएको छ ।
यसैबीच, भारत, चीन र दक्षिण कोरियाका विशिष्टीकृत सुरुङ उद्धार टोली बाढी प्रभावित क्षेत्रका जलविद्युत् आयोजनाका सुरुङमा खोज तथा उद्धार कार्यमा खटिएका छन् । उनीहरूले नेपाली सेनाको समन्वयमा काम गरिरहेका छन् ।
प्रवक्ता क्षेत्रीका अनुसार भारतका दुई टोलीमा २४ जना, चीनका ९ जना विशिष्टीकृत सुरुङ उद्धार टोली प्रभावित जलविद्युत् आयोजना क्षेत्रमा परिचालन भएका छन् । दक्षिण कोरियाको एउटा टोलीसमेत नेपाल आइपुगेको छ ।
भारतीय टोलीले चिलिमे र लाङटाङ जलविद्युत् आयोजनामा तथा चिनियाँ टोलीले माथिल्लो त्रिशूली–३ ‘ए’ आयोजनामा नेपाली सेनाको समन्वयमा खोज तथा उद्धार गरिरहेको मन्त्रालयले जनाएको छ।
प्रकाशित मिति: मंगलबार, भदौ १६, २०८३