सुर्खेत । भदौ १० गते रसुवाको भोटेकोसीमा आएको भीषण बाढीपछि जुम्लाका बरदान सेजुवाल विक्षिप्त छन् । बाढीमा परी श्रीमती र ११ महिनाकी छोरी सम्पर्कविहीन भएपछि उनी निरन्तर उनीहरूको खोजीमा छन् ।
बाढीपछि उनकी श्रीमती ललितादेवी कुमाई र ११ महिनाकी छोरी बरलिता सम्पर्कविहीन छन् । पाँचौँ तहकी स्टाफ नर्स ललितादेवी काठमाडौंको ट्रमा सेन्टरमा कार्यरत थिइन् । काज सरुवामा उनी रसुवागढी हेल्थ डेस्क, टिमुरे पुगेकी थिइन् ।
ललिता भदौ ९ गते छोरीसहित टिमुरे पुगेकी थिइन् । तर भोलिपल्ट भदौ १० गते भोटेकोशीमा भीषण बाढी आएपछि उनीहरू सम्पर्कविहीन भएका हुन् ।
श्रीमती र छोरीको अवस्था सात दिनसम्म पनि थाहा नपाएपछि बरदान दुई पटकसम्म बाढी प्रभावित क्षेत्रमा पुगेर खोजी गरिसकेका छन् । तर अहिलेसम्म उनीहरूको कुनै अत्तोपत्तो छैन ।
ललिता २०७३ कात्तिकमा सरकारी सेवामा प्रवेश गरेकी थिइन् । करिब एक दशकदेखि सरकारी सेवामा रहेकी उनी सेवाकै क्रममा चीनसँगको सीमावर्ती क्षेत्रमा काज सरुवामा गएकी थिइन् ।
बरदान र ललिता दुवै सरकारी सेवामा कार्यरत थिए । उनीहरूको २०७५ वैशाख १५ गते विवाह भएको थियो । सरकारी जिम्मेवारीसँगै उनीहरूको पारिवारिक जीवन सामान्य रूपमा चलिरहेको थियो । तर भोटेकोशीको बाढीले परिवारलाई अकल्पनीय पीडा दिएको बरदान बताउँछन् ।
मंगलबार छोरी बरलिताको पहिलो जन्मदिन परेको छ । छोरीको जन्मदिनमा समेत उनको अवस्था अज्ञात रहेपछि बरदान झनै भावुक भएका छन् ।
उनले सामाजिक सञ्जालमा लेखेका छन्, “आज छोरी बरलिता, तिम्रो पहिलो जन्मदिन ! हामी कुरिरहेका छौँ।”
प्रकाशित मिति: मंगलबार, भदौ १६, २०८३